काठमाडौँ । कुख्यात लागूऔषध कारोबारी Nemesio Oseguera Cervantes उर्फ ‘एल मेन्चो’ सैन्य कारबाहीमा मारिएपछि Mexico का विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भड्किएको छ।

५९ वर्षीय ओसेगुएरा सोमबार सेनाको विशेष अपरेशनमा मारिएका थिए। मेक्सिकोका सुरक्षा मन्त्री Omar García Harfuch का अनुसार उक्त अपरेशन र त्यसपछि भड्किएको हिंसामा २५ जना राष्ट्रिय गार्डसहित कुल ७४ जनाको मृत्यु भएको छ।
पश्चिमी राज्य Jalisco अन्तर्गत Guadalajara नजिकको तापाल्पामा आइतबार भएको कारबाहीमा उनी मारिएका थिए। उक्त क्षेत्र ओसेगुएराको नेतृत्वमा रहेको Jalisco New Generation Cartel (CJNG) को मुख्य आधार इलाका मानिन्छ।
हिंसा फैलिन नदिन सरकारले देशका ३२ मध्ये २० राज्यमा सेना परिचालन गरेको छ। अस्थिरतापछि ग्वाडालाजारा लगायतका शहरमा विद्यालय बन्द गरिएका छन् भने सार्वजनिक यातायातसमेत प्रभावित भएको छ। सर्वसाधारण घरबाट निस्कन त्रसित देखिएका छन्।
अधिकारीहरूका अनुसार CJNG का शंकास्पद सदस्यहरूले विभिन्न राज्यमा सवारीसाधनमा आगजनी गरेका छन्। बैंक, पेट्रोल पम्प र पसलहरूमा समेत आक्रमण तथा तोडफोड भएको छ। सडक अवरुद्ध गर्न ट्रकहरू राखिएको र सुरक्षा बलले हटाएको जनाइएको छ।
यसबीच मेक्सिकोकी राष्ट्रपति Claudia Sheinbaum ले देशमा शान्ति फर्किएको दाबी गरेकी छन्। उनले अवस्था नियन्त्रणमा रहेको र जनजीवन क्रमशः सामान्य बन्दै गएको बताइन्।
अमेरिकी प्रशासनले अपरेशनमा गुप्तचर सहयोग प्रदान गरेको पुष्टि गरेको छ। White House ले कार्टेल नेतालाई पक्राउ गर्ने अभियानमा सहकार्य भएको जनाएको हो। यसअघि अमेरिकाले ओसेगुएराको सूचना दिनेलाई १ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।
तर राष्ट्रपति शेनबाउमले अपरेशन पूर्ण रूपमा मेक्सिकन संघीय सेनाको नेतृत्वमा सम्पन्न भएको दाबी गर्दै अमेरिकी सेनाको प्रत्यक्ष संलग्नता नभएको स्पष्ट पारेकी छन्।