मुम्बई । रमित कार्कीको पहाड घर दार्चुला हो । हाल कैलालीको अत्तरिया बस्छन् । सीवाईसी अत्तरियामा एक वर्षदेखि क्रिकेट प्रशिक्षण लिइरहेका उनले धनगढी क्रिकेट एकेडेमी (डीसीए) को फेसबुक पेजमा मुम्बई भ्रमणमा टिम जान लागेको सूचना हेरे पनि त्यसलाई खासै ध्यान दिएका थिएनन् ।

साथीहरूको सल्लाहपछि भने १६ वर्षीय उनी डीसीए पछ्याउँदै धनगढी पुगे । ट्वान्टी–२० विश्वकप क्रिकेट चलिरहेको यो समयमा डीसीएले मुम्बई भ्रमण तालिका मिलाएको थियो । १२ देखि १६ वर्षका खेलाडीलाई लिएर आएको डीसीएले ६ फरक टोलीसँग खेलेको थियो भने नेपालले विश्वकपमा खेलेको चारै खेल डीसीएका खेलाडीले प्रत्यक्ष मैदानमा आएर हेरे ।
खेलाडीलाई एक्सपोजर दिन र अन्तर्राष्ट्रिय अनुभव दिलाउन डीसीएले मुम्बई भ्रमण गराएको मौकामा रमितले शतक प्रहार गरिसकेका छन् । आजाद मैदानको न्यु इरा पिचमा उनले तेस्रो खेलमा मारिया क्रिकेट एकेडेमीविरुद्ध १ सय १५ बलमा १ सय ३९ रन बनाएका थिए ।
‘शतक बनाउन कसलाई मन नपर्ला र,’ रातो विकेटमा शतक बनाएका उनलाई त्यसको चार दिनपछि भेट्दा पनि शतकलाई लिएर निकै रोमाञ्चित थिए । पहिलो पटक टर्फ विकेटमा खेल्न उनले शतक बनाए । त्यही भएर उनका लागि यो शतक विशेष छ । उनलाई थाहा छ मुम्बईमा सिकेको कुराले खेल अझ अगाडि मदत गर्नेछ ।
डीसीए सन् २०१५ मा पनि मुम्बई भ्रमणमा आएको थियो । लोकेश बमले नेपाली क्रिकेटमा आफ्नो आगमन मुम्बईबाटै दिएका थिए, जब उनले आजाद मैदानमै सिन्ध स्पोर्ट्स क्लबसँगको दुईदिवसीय खेलको पहिलो दिनमा १ सय ६ रन बनाएका थिए । लोकेश त्यतिबेला १५ वर्षका थिए । त्यही लोकेशले ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्धको पहिलो खेलमा नेपाललाई विजय नजिक पुर्याएका थिए ।
ठूलो मैदान भएकाले राम्रो स्कोर गर्ने रहर र चाहना दुवै हुन्छ । तर अगाडि टप्पा भएको बलमा ब्याक फुटमा गएर हान्दा उनी आउट हुन पुगेका थिए । जसरी त्यो बल खेल्नुपर्थ्यो, त्यो नखेलेर आउट भएकाले रमितलाई पनि चित्त बुझेको छैन । देव्रेहाते ब्याटर हुन् उनी । बलिङ भने दाहिने हातले गर्छन् । नेपाली क्रिकेटमा देव्रेहाते ब्याटरको कमी रहेको अवगत गराउँदा उनले मुस्कुराउँदै भने, ‘राम्रै आस गरौं । उनले मुम्बईमा खेलेर आफ्नो कमजोरी थाहा पाएका छन् । आफ्नो आत्मविश्वास कुन शटमा छ भनेर पनि बुझ्ने अवसर पाए । नेपाल गएर आफ्नो कमजोरीप्रति ध्यान दिने उनको योजना छ ।
कीर्तिपुर मैदानमा गएर अहिलेसम्म उनले म्याच हेर्न पाएका छैनन् । तर, पहिलो पटक रंगशालामा आएर नेपालको विश्वकप खेल हेर्दा उनलाई रमाइलो र गर्व महसुस भएको छ । रमितले सुनाए, ‘दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेललाई पहिलो पटक प्रत्यक्ष देख्न पाएँ । कुशल मलाई मनपर्ने ब्याटर हुन् । क्लासिक खेल्ने भएकाले धेरै मनपर्छ । म पनि क्लासिक खेल्ने गर्छु ।’ मुम्बई आएको खर्च प्रतिखेलाडी ६० हजार रुपैयाँ थियो । आधा खेलाडीले तिर्नुपर्ने र आधा डीसीएले आफ्नो स्रोतबाट जुटाएको थियो ।
डीसीए टोलीकै सुशील बोगटी १५ वर्षका भए । उनी अफ स्पिन बलिङ गर्छन् । पहिला उनी गाउँमै खेल्थे । अत्तरिया क्रिकेट एकेडेमी खुलेपछि उनी त्यहाँ प्रशिक्षण गर्न पुगे । डीसीएले मुम्बई भ्रमण जान लागेको सूचना राखेपछि उनी परिवारसँग सल्लाह गरेर यता खेल्न आइपुगेको बताउँछन् । परीक्षा आइरहेकाले पढाइमा केन्द्रित हुन परिवारले दबाब दिए पनि उनले मुम्बई आउने अडान छाडेनन् ।
डीसीएले खेलेको दोस्रो खेलमा उनले फिनिक्स स्पोर्ट्स क्लबविरुद्ध पाटिल माउन्टेन भ्यु जिमखाना बदलापुरमा लगातार ह्याटिक विकेट लिएका थिए । ‘पहिले नेटमै मात्र खेलेको थिएँ, मुम्बईमा ठूलो म्याच खेल्न पायौं,’ सुशीलले ह्याट्रिक विकेटको कहानी सुनाए, ‘पहिलो बलमा स्टम्पिङ भयो, दोस्रो हावामा बल दिएको थिएँ कट एन्ड बोल्ड भयो । तेस्रो बलमा बोल्ड गरें ।’ उनी बल हावामा छोड्न मन पराउँछन् । पहिलो पटक घरबाहिर खेल्न आउँदा राम्रो अनुभव बटुलिरहेको उनी सुनाउँछन् ।
अत्तरियास्थित दुर्गालक्ष्मी माविमा पढिरहेका उनी राम्रो खेल्दै गए आफूले एकदिन लोकेश बमविरुद्ध बलिङ गर्न पाउने आशा राख्छन् । उनी पहिला टेनिस बल खेल्थे र लेग स्पिन गर्थे । टेलिभिजनमा खेल हेर्न लागेपछि उनलाई अफ स्पिन राम्रो लाग्यो । एकेडेमीमा भर्ना भएपछि सिनियरहरूले राम्रो बलिङ छ भनेपछि त्यसयता अफ स्पिन नै बलिङ गरिरहेका छन् ।
डीसीएका प्रशिक्षक विजय राना किशोर खेलाडीले निकै राम्रो एक्सपोजर पाएकोमा दंग छन् । लोकेश पनि विगतमा यस्तैबाट सिकेर अहिले राष्ट्रिय टोलीमा पुगेकाले यसपटक आएका खेलाडीलाई त्यो प्रेरणा हुने रानाको बुझाइ छ । ८–९ महिनादेखि उनीहरूले डीसीएमा प्रशिक्षण गरिरहेका छन् । उनीहरूले एकेडेमीको अभ्यास खेलबाहेक खेल्न पाएका थिएनन् । अन्तर स्कुल प्रतियोगिताहरू मात्र खेलेका उनीहरूका यो भ्रमण निकै फलदायी भएको प्रशिक्षक रानाले सुनाए ।
उनले भने, ‘प्रत्येक खेलसँगै खेलाडीहरूले सिक्ने मौका पाइरहेका छन् । यहाँ जे सिकेका छन्, त्यो नेपाल गएर लागू गर्नुपर्छ । यहाँ खेल्नु धेरै फरक छ, धेरै खेलाडीले खेलिरहेका हुन्छन् । संघर्ष के हो भन्ने थाहा पाइन्छ । सबै नयाँ खेलाडी हुन्, उनीहरूले राम्रोसँग सिकिरहेका छन् ।’
डीसीएका व्यवस्थापक सन्दीप भट्ट आफ्ना खेलाडीले नेपालकै राष्ट्रिय खेलाडीलाई पनि टेलिभिजनमा मात्र हेर्न पाएको र एकै पटक विश्वकपमा उनीहरूको खेल प्रत्यक्ष हेर्न पाउँदा निकै अनौठो अनुभूति गरिरहेको बताए । ‘उनीहरूले मुम्बई आएर धेरै सिक्ने अवसर पाउनुका साथै नेपालको खेल हेरेर विश्वकपको सपना देख्न थालिसकेका छन् । विश्वकप कुन हिसाबको हुन्छ भनेर उनीहरूले बुझ्न पाउनु ठूलो अवसर हो,’ भट्टले भने, ‘नेपालको विश्वकपमा खेलेको खेल हेरेर उनीहरू धेरै नै प्रेरित भएको पाएका छौं । यो स्तरमा पुग्न निरन्तर खेलिरहनुपर्ने उनीहरूले मनन गरेका छन् ।’