धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट धादिङ–१ मा उम्मेदवार आशिका तामाङले आफू विरुद्धको आलोचना मुख्यतः हिलो र गोबरसँग साइनो नभएका व्यक्तिहरूद्वारा गरिएको बताएकी छिन्। सामाजिक सञ्जालमा साझा गर्दै उनले आफ्नो संघर्षपूर्ण जीवन र किसान परिवारको कथा सुनाइन्। तामाङका अनुसार, उनका बाल्यकालका स्मृतिहरू महलका भित्तामा होइन, मलेखुको उकाली–ओराली र अर्काको बारीका कान्लाहरूमा कोरिएका छन्। उनका बुबाले आफ्नो जीवन अर्काको घरमा बसेर, अर्काको खेतबारी पसिनाले भिजाएर बिताएका थिए। उनका अनुसार परिवारको गर्जो तिनै गोठका बाख्रा र खोरका कुखुराहरूले टार्थे, जसलाई उनले आफ्ना सन्तानझैं माया गर्थिन्।

आशिकाले सामाजिक सञ्जालमा लेखेकी छिन्, “जब घरको समस्या टार्न आफूले काखमा खेलाएको पाठो बेच्नुपर्थ्यो, तब बुबा र मेरो मन कति रुन्थ्यो। आफ्नै सन्तानझैं हुर्काएको जीवलाई पैसासँग साट्नु परेको पीडा नेपाली किसानका आँखामा अझै झल्किन्छ।”
उनी थप्छिन्, “विपक्षी साथीहरूलाई मेरो एउटै अनुरोध छ– मेरो विरुद्ध भ्रम फैलाउने र मेरो धरातललाई गिज्याउनुको सट्टा जनताको घरदैलोमा आफ्नो एजेन्डा लिएर जानुहोस्। तपाईंहरूले मान्छेलाई भोटको साधन मात्र बनाउनु भएको छ, तर अब सचेत जनताले भ्रम बुझिसकेका छन्। मेरो धरातल र किसान दाजुभाइ, दिदीबहिनीहरूको अभाव बिर्सने छुट छैन। मेरो साइनो सधैँ यही माटो र गोठसँग अटुट रहनेछ। आशिका तामाङको यो अभिव्यक्तिले किसान समुदायको पीडा र स्वतन्त्र राजनीतिक आवाजको महत्त्वलाई उजागर गरेको छ।