नयाँ दिल्ली । भारतीय प्रहरीले बङ्गलादेशका एक चर्चित विद्यार्थी नेताको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा दुई बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। भारतको पश्चिम बङ्गाल राज्यको प्रहरीले सीमा क्षेत्रमा लुकेर बसेका ती दुई जनालाई आइतबार नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरूको संलग्नता देखिएको जनाएको छ। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा पक्राउ गरिएका ती व्यक्तिहरू अवैध रूपमा बङ्गलादेशबाट भारत प्रवेश गरेका थिए र पुनः बङ्गलादेश फर्कने तयारीमा सीमा क्षेत्रमा शरण लिन खोजिरहेका थिए।

सन् २०२४ मा बङ्गलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने जनविद्रोहमा सहभागी भएका तथा भारतका मुखर आलोचक मानिने विद्यार्थी नेता सरिफ उस्मान हादीमाथि गत वर्ष नकाबधारी आक्रमणकारीहरूले गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका हादीलाई उपचारका लागि सिङ्गापुर लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
हादीको हत्या भएपछि बङ्गलादेशमा व्यापक आक्रोश फैलिएको थियो। त्यसक्रममा हिंसात्मक प्रदर्शनहरू भएका थिए भने आक्रोशित भीडले भारत समर्थक मानिने दुई प्रमुख अखबार तथा एक सांस्कृतिक संस्थासहित विभिन्न भवनहरूमा आगजनी गरेका थिए।
यसअघि बङ्गलादेशी प्रहरीले हादीको हत्या गर्ने व्यक्तिहरू भारततर्फ भागेको दाबी गरेको थियो तर भारतीय अधिकारीहरूले भारतमा हत्यारा नभएको बताएका थिए। अहिले पक्राउ परेका दुई जनासँगको प्रारम्भिक सोधपुछपछि भने घटनामा उनीहरूको संलग्नता देखिएको भारतीय प्रहरीले जनाएको छ।
उता, हसिना प्रजातन्त्र समर्थक विद्रोहपछि भारतमा शरण लिन बाध्य भएपछि भारत र बङ्गलादेशबीचको सम्बन्ध पनि केही चिसिएको थियो। भारतको विदेश मन्त्रालयले भने हादीको हत्यामा नयाँ दिल्लीको संलग्नता रहेको भन्ने आरोपलाई ‘गलत कथन’ भन्दै अस्वीकार गरेको छ।
यसबीच हसिनाको बहिर्गमनपछि गत फेब्रुअरीमा भएको पहिलो संसदीय निर्वाचनमा जित हासिल गरेको बङ्गलादेश नेसनलिस्ट पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका थिए।