Entertainment

सुनसान बजारबाट पुनर्जागरणतर्फस् धनकुटाको कोप्चे फेरि चहलपहलमा

सुनसान बजारबाट पुनर्जागरणतर्फस् धनकुटाको कोप्चे फेरि चहलपहलमा

धनकुटा । कुनै समय कोशी पहाडी जिल्लाहरूको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित धनकुटा सदरमुकामको कोप्चे क्षेत्र यतिबेला नयाँ पहिचानसहित पुनर्जीवित हुने प्रयासमा जुटेको छ। एक समय धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा लगायतका जिल्लाका बासिन्दाका लागि लत्ताकपडा, खाद्यान्न र दैनिक उपभोग्य सामग्री किन्न–बेच्नको मुख्य थलो बनेको कोप्चे, सडक सञ्जाल विस्तार भएसँगै क्रमशः सुनसान बन्दै गएको थियो। जता बाटो, उता व्यापार” भन्ने उखानजस्तै गाउँ–गाउँमा सडक पुगेपछि व्यापार विकेन्द्रीकृत भयो, पसलहरू सरे, र पुरानो चहलपहल हराउँदै गयो। तर अहिले स्थानीय युवाहरूको पहलमा कोप्चे फेरि जाग्ने संकेत देखिएको छ।

ADVERTISEMENT

कोप्चे पुनर्जागरण अभियान’ सुरु

स्थानीय युवाहरूको अगुवाइमा ‘कोप्चे पुनर्जागरण अभियान’ सुरु गरिएको छ। अभियानका सक्रिय सदस्य उज्वल कर्माचार्यका अनुसार कोप्चेको ऐतिहासिक पहिचान जोगाउने र नयाँ पुस्तालाई विगतसँग जोड्ने उद्देश्यले विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आयोजना भइरहेका छन्।

नयाँ वर्षका अवसरमा विशेष कार्यक्रम, ‘कोप्चे फेस्ट’, नेवारी खाना महोत्सव, खुला संवाद तथा भेला जस्ता गतिविधिले बजार क्षेत्रमा फेरि चहलपहल बढाउन थालेको छ।

सुन्तला सहर अभियान र ऐतिहासिक हटिया

धनकुटा सदरमुकाममा तल्लो र माथिल्लो गरी दुई कोप्चे छन्। माथिल्लो कोप्चेले स्थानीयता प्रवर्द्धनका लागि ‘सुन्तला सहर अभियान’ सञ्चालन गरेको छ। यसअन्तर्गत अधिकांश घरमा सुन्तला रंग लगाइएको छ, जसले क्षेत्रलाई विशिष्ट पहिचान दिएको छ।

विशेषगरी शताब्दी पुरानो ऐतिहासिक बिहीबारे हटियालाई केन्द्रमा राखेर विभिन्न सांस्कृतिक कार्यक्रम हुन थालेका छन्। हराउँदै गएको ‘बाघचाल’ खेललाई पुनर्जीवित गरिएको छ भने परम्परागत हस्तकला, स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रदर्शनीले पुरानो कोप्चेको झल्को दिलाउन थालेको छ।

मौलिक वास्तुकलाको संरक्षण

कोप्चेको मुख्य आकर्षण यसको परम्परागत वास्तुकला हो। झिँगटी र तेलिया इँटाले बनेका पुराना घरहरू अझै पनि क्षेत्रको पहिचान बनेका छन्। नासिन लागेका पाटी–पौवा मौलिक स्वरूपमै पुनर्निर्माण गरिएका छन्।

स्थानीय आषिस कर्माचार्यका अनुसार नयाँ बनेका होटल तथा रेस्टुराँसमेत पुरानै शैली झल्किने गरी निर्माण गरिएको छ। “मौलिकता बाँचे मात्रै इतिहास बाँच्छ,” उनी भन्छन्। आधुनिकता र विकासको नाममा स्थानीय पहिचान मेटिन नदिन आफूहरू सचेत रहेको उनले बताए।

इतिहास डिजिटल अभिलेखमा

कोप्चेसँग सम्बन्धित पुराना दस्तावेज, तस्बिर र कथाहरू संकलन गरी इन्टरनेट प्लेटफर्ममा राख्ने कामसमेत सुरु गरिएको छ। भौतिक प्रदर्शनी र सामाजिक सञ्जालमार्फत पुराना फोटोहरू सार्वजनिक भइरहेका छन्।

स्थानीय राजेन्द्रबहादुर प्रधानका अनुसार इतिहास, संस्कृति र मौलिक वास्तुकलामा रुचि राख्नेहरूका लागि कोप्चे आकर्षक गन्तव्य बन्दै गएको छ। “पुराना कुरालाई माया गर्नेहरूका लागि कोप्चे घुम्नैपर्ने ठाउँ बन्न थालेको छ,” उनी भन्छन्।

व्यापारभन्दा बढी पहिचानको अभियान

कोप्चे पुनर्जागरण अभियान व्यापारिक चहलपहल फर्काउने प्रयास मात्र होइन, पहिचान र स्मृतिलाई जोगाउने सांस्कृतिक आन्दोलनका रूपमा अघि बढिरहेको छ। स्थानीयहरूका अनुसार विस्तारै पर्यटक र घुम्न आउनेहरूको संख्या बढ्दै गएको छ। इतिहास र मौलिकता जोगाउँदै नयाँ पुस्तासँग जोड्ने यो प्रयास सफल भए कोप्चे फेरि एकपटक धनकुटाको सांस्कृतिक तथा सामाजिक केन्द्रका रूपमा स्थापित हुन सक्ने विश्वास गरिएको छ।