सुनसरी । तराईलाई देशको अन्नको भण्डारका रूपमा चिनिन्छ। तर यही अन्न उत्पादन हुने क्षेत्र सुनसरीमा अहिले निर्वाचनको माहोलसँगै मतदाताको सोच पनि बदलिँदै गएको देखिन्छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। तर यसपटक मतदाता पहिलाजस्तो मौन छैनन्, उनीहरू उम्मेदवारलाई स्पष्ट प्रश्न गर्न थालेका छन् र आफ्ना प्राथमिकता खुलेर राखिरहेका छन ।
सुनसरी निर्वाचन क्षेत्र नं ४ अन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका–२ का स्थानीय समीर आलमका अनुसार यहाँका अधिकांश परिवार मकै, तरकारी र धानखेतीमै निर्भर छन् । तर कृषि नै जीवनाधार बनेको यस क्षेत्रमा किसानले समयमै मल, बीउ र सिँचाइ सुविधा नपाउँदा उत्पादन प्रभावित हुँदै आएको छ । खेती ग¥यौँ, तर मल र पानीको अभावले उत्पादन घट्छ। त्यसमाथि गाउँका सडक राम्रो नहुँदा खेतमा उब्जाएको अन्न र तरकारी बजारसम्म पु¥याउनै मुस्किल हुन्छ,उनी भन्छन् । उनका अनुसार आगामी निर्वाचनमा कृषि, सडक र रोजगारी सुनिश्चित गर्न सक्ने उम्मेदवारलाई मात्र मत दिनुपर्ने अवस्था आएको छ।
भोक्राहा नरसिंह गाउँपालिका–३ का युवा मतदाता राजु मण्डल पनि यही चिन्तामा छन्। उनका अनुसार गाउँका युवाले देशमै रोजगारी नपाउँदा दिनहुँजसो विदेशिनु पर्ने बाध्यता छ। “युवाले काम नपाएर विदेश जानुपरेको छ । अब आउने प्रतिनिधिले कृषि क्षेत्रलाई आधुनिक बनाएर यहीँ रोजगारी सिर्जना गर्न सक्नुपर्छ,” मण्डलले भने ।
किसानका लागि सरकारले घोषणा गरेका सुविधा कागजमै सीमित रहेको गुनासो पनि स्थानीयको छ। भोक्राहा नरसिंह–६ का ५८ वर्षीय बिहारीराम चमार भन्छन्, “पटक–पटक भोट दियौँ, नेताहरू जितेर गए । तर गाउँमा भने जस्तो विकास कहिल्यै देखिएन।” उनका अनुसार कृषि, सडक र आधारभूत सेवामा ठोस सुधार नभएसम्म जनताको जीवनस्तर बदलिन सक्दैन। “अबको उम्मेदवारले भाषण होइन, किसानका वास्तविक समस्या समाधान गर्नुपर्छ,” उनी जोड दिन्छन ।


यस क्षेत्रका मतदाताका लागि कृषि उत्पादन बढाउने नीति, सिँचाइको सुनिश्चितता, बजारसम्म पुग्ने सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाको पहुँच र युवाका लागि रोजगारी मुख्य प्राथमिकतामा परेका छन्। मतदाताको भनाइमा यसपटक व्यक्तित्वभन्दा पनि एजेन्डा हेरेर मत दिने तयारी देखिन्छ ।
समग्रमा सुनसरी–४ का मतदाताले यसपटक स्पष्ट सन्देश दिएका छन्—कृषि, पूर्वाधार र रोजगारीमा ठोस काम गर्न सक्ने उम्मेदवारलाई मात्र जनमत मिल्नेछ। भाषणभन्दा काम खोज्ने मतदाताको यो बदलिँदो सोचले आगामी निर्वाचनको नतिजामा पनि प्रभाव पार्ने देखिन्छ ।