Politics

सुनसरी–३ मा थारु मत निर्णायक, गच्छदार–चौधरी–अशोकबीच त्रिकोणात्मक प्रतिस्पर्धा

सुनसरी–३ मा थारु मत निर्णायक, गच्छदार–चौधरी–अशोकबीच त्रिकोणात्मक प्रतिस्पर्धा

सुनसरी । सुनसरी जिल्लाको चार निर्वाचन क्षेत्रमध्ये सुनसरी–३ मा यसपटक चुनावी प्रतिस्पर्धा निकै रोचक र चर्को बनेको छ। कुल १ लाख ३४ हजार ३ सय २ मतदाता रहेको यस क्षेत्रमा आधाभन्दा बढी मतदाता थारु समुदायका रहेका छन्। यही कारण यहाँको चुनावी केन्द्रबिन्दु थारु मत बन्दै गएको छ।यस, निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारदेखि साना दल र प्रमुख दलसम्मका अधिकांश उम्मेदवार थारु समुदायबाटै रहेका छन्। त्यसैले उम्मेदवारहरूको ध्यान जातीय मत आफ्नो पक्षमा पार्न केन्द्रित देखिन्छ। सुनसरी–३ बाट नेपाली राजनीतिमा शक्ति र सत्ताको खेल बुझ्ने चतुर खेलाडीका रूपमा चिनिने विजयकुमार गच्छदार नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन्। लगातार पाँच पटक निर्वाचन जितेका गच्छदार गत निर्वाचनमा भने पहिलो पटक पराजित भएका थिए।

ADVERTISEMENT

गच्छदारलाई चुनौती दिँदै नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरी फेरि चुनावी मैदानमा उत्रिएकी छन्। विगत १८ वर्षदेखि निरन्तर प्रतिस्पर्धी रहेका गच्छदार र चौधरीबीच यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सांसद अशोक चौधरीको प्रवेशले त्रिकोणात्मक प्रतिस्पर्धा बनेको छ।

रास्वपाका अशोक चौधरी गत निर्वाचनमा समानुपातिक सांसद बनेर चर्चामा आएका थिए। यसपटक प्रत्यक्ष निर्वाचनमार्फत जित हात पार्ने दाबीका साथ उनी मैदानमा छन्। केही स्वतन्त्र उम्मेदवार र साना दलको उपस्थितिले मत विभाजन हुने र त्यसको फाइदा आफूलाई पुग्ने अशोक चौधरीको दाबी छ। नेपाली कम्युनिस्ट पार्टीबाट अर्का थारु उम्मेदवार दुर्गेश चौधरी पनि प्रतिस्पर्धामा रहेकाले सुनसरी–३ को चुनावी समीकरण थप जटिल बनेको छ। विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट २०२७ सालदेखि राजनीतिक यात्रा सुरु गरेका गच्छदार सुनसरी क्षेत्र नम्बर २ बाट २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा विजयी भएका थिए। २०६४ सालमा मधेसको मुद्दा उठाउँदै कांग्रेस परित्याग गरी मधेसी जनअधिकार फोरम नेपालबाट सुनसरी–३ मा विजयी भएका गच्छदार हालसम्म १५ पटक मन्त्री भइसकेका छन्। जिल्लाको समग्र विकासमा सबैभन्दा बढी योगदान आफूले दिएको दाबी गर्दै गच्छदार यसपटक जितप्रति ढुक्क देखिन्छन्।

तर, गच्छदार ललिता निवास जग्गा प्रकरणसँग जोडिएको मुद्दाका कारण पनि आलोचित छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतबाट सफाइ पाए पनि सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ। कानुनी रूपमा उम्मेदवार बन्न रोक नलागे पनि दोषी ठहर भएमा सांसद पद निलम्बन हुने प्रावधान छ।  गत निर्वाचनमा गच्छदारलाई फराकिलो मतान्तरले पराजित गरेकी भगवती चौधरी दोस्रो पटक पनि जित निकाल्ने आत्मविश्वासमा देखिएकी छन्। यसपटकको चुनाव ‘अलि टेक्निकल’ भएकाले रणनीतिक ढंगले अघि बढिरहेको उनको भनाइ छ।

भौगोलिक रूपमा सुनसरी–३ मा गढी र बर्जू गाउँपालिकाका सबै वडा, दुहबी नगरपालिकाका सबै वडा, इटहरी उपमहानगरपालिकाका १० वडा र इनरुवा नगरपालिकाको वडा नम्बर ७ समावेश छन्। निर्वाचन कार्यालयका अनुसार दुहबीमा ४० हजार ५ सय ३२, इटहरीमा ३९ हजार ५ सय ३१, गढीमा २५ हजार ५ सय ७५, बर्जूमा २३ हजार ९ सय ३६ र इनरुवा–७ मा ४ हजार ७ सय २८ मतदाता रहेका छन्।

यस क्षेत्रबाट कुल २२ जनाले उम्मेदवारी दिएका छन्। श्रम संस्कृति पार्टीबाट रामप्रसाद सदा, समावेशी समाजवादी पार्टी नेपालबाट किशोरकुमार विश्वास र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट घनश्याम गुरुङ उम्मेदवार बनेका छन्।

अब सुनसरी–३ मा विजयकुमार गच्छदारको राजनीतिक विरासत फर्किन्छ कि भगवती चौधरीले दोस्रो पटक पनि जित दोहोर्याउँछिन्, वा रास्वपाका अशोक चौधरी उदाउँछन्, अथवा कुनै अप्रत्याशित उम्मेदवारले बाजी मार्छ—यसको फैसला आगामी फागुन २१ पछि हुनेछ।