Health & Wellness

सुकुमेल: मुटु, फोक्सोदेखि पाचन र मानसिक स्वास्थ्यसम्मको प्राकृतिक औषधि

सुकुमेल: मुटु, फोक्सोदेखि पाचन र मानसिक स्वास्थ्यसम्मको प्राकृतिक औषधि

सजिलै उपलब्ध हुने र दैनिक भान्सामा मसला वा खाद्य पदार्थको रूपमा प्रयोग हुने सुकुमेल स्वास्थ्यका लागि अत्यन्त लाभदायी छ। मुटुको धड्कन सुधार, रक्तचाप नियन्त्रण, फोक्सोको स्वास्थ्य, कब्जियत कम गर्ने र मानसिक स्वास्थ्य मजबुत बनाउन यसले सहयोग पुर्याउँछ। विशेषज्ञहरूले दैनिक दुई–तीन सुकुमेलको सेवनलाई स्वास्थ्य सुधारका लागि प्रभावकारी उपाय मान्छन्।

ADVERTISEMENT

मुटु र रक्तचापमा लाभ

सुकुमेलमा पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता खनिज पदार्थ पाइन्छ। पोटासियमले शरीरमा रगतको प्रवाह सन्तुलित राख्न सहयोग गर्छ भने सुकुमेलको नियमित सेवनले रक्तचाप नियन्त्रणमा राख्न मद्दत पुर्याउँछ।

फोक्सो र श्वासप्रश्वास सुधार

सुकुमेलले फोक्सोमा रक्तसञ्चार बढाउँछ र स्वासप्रश्वास सम्बन्धी समस्यामा राहत दिन्छ। आयुर्वेद अनुसार यसले शरीरमा गर्मी प्रदान गर्छ, जसले चिसोको असर कम गर्छ। चिसो, खोकी वा दमजस्ता समस्या भएका व्यक्तिका लागि सुकुमेलको सेवन लाभदायी मानिन्छ।

मुखको गन्ध र पाचन सुधार

सुकुमेल माउथ फ्रेशनरको रूपमा पनि काम गर्छ। मुखको गन्ध कम गर्न र स्वाद सुधार गर्न सुकुमेल लाभदायी छ। यसका साथै पाचन प्रणाली सुधार गर्न पनि यसको प्रयोग महत्वपूर्ण छ। कब्जियत, पेटमा अम्लीयपन वा उल्टीको समस्या भएका व्यक्तिले सुकुमेल पकाएको पानी वा सिधै सेवन गरेर राहत पाउन सक्छन्।

घाँटी दुखाइ, जोर्नी र श्वाससम्बन्धी रोगमा राहत

सुकुमेलले घाँटी दुखाइ कम गर्छ, दम तथा घाँटी सुकेको समस्यामा राहत दिन्छ। यसमा पाइने एन्टीमाइक्रोबियल र पीडानाशक तत्वले शरीरमा संक्रमण र दुखाइ घटाउँछ।

क्यान्सर र रोग प्रतिरोधात्मक क्षमता

सुकुमेलको नियमित सेवनले कोलो–रेक्टल क्यान्सरको रोकथाम गर्न मद्दत पुर्याउँछ। यसले मुटु, श्वासप्रश्वास र पाचन प्रणालीलाई स्वस्थ राख्छ, र शरीरको प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।

पोषक तत्व र ऊर्जा

१०० ग्राम सुकुमेलमा करिब ३ सय क्यालोरी ऊर्जा, ८ ग्राम कार्बोहाइड्रेट, ११ ग्राम प्रोटिन र २८ ग्राम फाइबर पाइन्छ। कोलेस्ट्रोलको मात्रा शून्य हुन्छ। यसमा भिटामिन ए, भिटामिन सी, नियासिन, पाइरिडोक्सिन, रिबोफ्लाभिन, थियामाइन, सोडियम, पोटासियम, क्याल्सियम, आइरन, म्याङ्गनीज, म्याग्नेसियम, फोस्फोरस, कपर र जिंक पाइन्छ।

उपयोग र सावधानी

सुकुमेल दैनिक जीवनमा मसला वा खाना स्वाद बढाउन प्रयोग गर्न सकिन्छ। स्वास्थ्य लाभको लागि दैनिक दुई–तीन सुकुमेल सेवन पर्याप्त हुन्छ। अत्यधिक सेवनले स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ, त्यसैले सन्तुलित मात्रामा प्रयोग गर्न सुझाव दिइन्छ। सुकुमेल दुई प्रकारको हुन्छ — ठूलो र सानो, दुवै मसालाको रूपमा प्रयोग गर्न सकिन्छ।