एजेन्सी । सिरियाको उत्तरपूर्वी क्षेत्रमा रहेका इस्लामिक स्टेटसँग आवद्ध ११ अष्ट्रेलियाली परिवारको स्वदेश फिर्ती प्रक्रिया समन्वयको कमीका कारण अन्तिम समयमा स्थगित भएको छ।

सोमबार ११ परिवारका ३४ जना सदस्यहरूलाई उत्तरपूर्वी सिरियाको रोज क्याम्पबाट अष्ट्रेलिया फिर्ता लैजाने योजना बनाइएको थियो। तर सिरियाली अन्तरिम प्रशासनसँग आवश्यक समन्वय नपुगेको भन्दै फिर्ती प्रक्रियालाई बीचैमा रोकिएको छ। क्याम्प अधिकारी शेखमोस अहमद का अनुसार, परिवारहरूलाई दमास्कस पुग्नु अगावै क्याम्पमै फर्काउन आदेश दिइएको थियो। अधिकारीहरूले भनेका छन् कि दमास्कस प्रशासनसँग समन्वय गरेर नयाँ मिति तय गरिनेछ।
रोज क्याम्पकी निर्देशक हाकिमा इब्राहिम ले हाल क्याम्पमा ४० भन्दा बढी देशका करिब ७ सय ४२ परिवारहरू बसोवास गरिरहेका छन् जानकारी दिइन्। सन् २०२६ मा यो पहिलो स्वदेश फिर्ती प्रयास थियो।
सिरियाली मानवअधिकार पर्यवेक्षकका अनुसार यस्तो स्वदेश फिर्तीको प्रक्रिया जटिल र संवेदनशील छ। यसका लागि क्याम्प प्रशासन, क्षेत्रीय स्वायत्त प्रशासन, विदेशी सरकारहरू र अमेरिकी नेतृत्वको गठबन्धनबीच कडा सुरक्षा र समन्वय आवश्यक पर्दछ।
विशेषज्ञहरूले यस फिर्ती प्रयासको असफलताले स्वदेश फिर्ती कार्यक्रमको जटिलता र सुरक्षा चुनौतीलाई पुनः पुष्टि गरेको बताएका छन्। साथै, इस्लामिक स्टेटसँग सम्बन्धित व्यक्तिहरूको फिर्ती व्यवस्थापनमा कूटनीतिक समन्वय, कानुनी प्रक्रिया र मानवअधिकारका मापदण्डहरूको पालना अत्यावश्यक रहेको उनीहरूको चेतावनी छ।
यस घटनाले देखाउँछ कि युद्ध र आतंकवाद प्रभावित क्षेत्रमा फिर्ती कार्यक्रमहरू धेरै पक्षीय समन्वय, सुरक्षा सुनिश्चितता र प्रशासनिक तयारीबिना सफल हुन कठिन हुन्छ। भविष्यमा यी प्रयासहरू सफल बनाउन अन्तर्राष्ट्रिय समुदाय र सम्बद्ध पक्षबीच अझ बढी समन्वय र पूर्व तयारी आवश्यक रहेको विश्लेषकहरूले औँल्याएका छन्।