सिरहा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिरहा क्षेत्र नम्बर ३ मा घरदैलो अभियान तीव्र बनेको छ। उम्मेदवारहरू हात जोड्दै मतदाताको घरदैलोमा पुगिरहेका छन्। स्वास्थ्य सेवा सुधार, निःशुल्क र गुणस्तरीय शिक्षा, कृषिमा क्रान्ति, रोजगारी सिर्जना— यस्ता प्रतिबद्धता दोहोरिँदै आएका छन्। तर स्थानीय मतदातामा भने उत्साहभन्दा निराशा बढी देखिन्छ।

मत दिँदादिँदा बुढ्यौली आयो, विकास आएन
सिरहा–३ का शिवबहादुर थापा भन्छन्, “हरेक चुनावमा उही अनुहार र उही बाचा। धेरैचोटि विश्वास गर्यौँ, जिताएर पठायौँ, तर काम भएन।”
उनका अनुसार सरकारी अस्पतालमा औषधिको अभाव छ, विद्यालयमा शिक्षक कमी छन्, किसानले समयमा मल–बिउ पाउँदैनन्। “मत दिँदादिँदा बुढ्यौली लागिसक्यो, तर विकास अझै अधुरै छ,” उनी गुनासो गर्छन्। स्थानीय बौनी राम पनि नेताहरूको आश्वासनप्रति अविश्वस्त देखिन्छिन्। “जितेपछि फर्केर आउँदैनन्। आज एउटा पार्टीले घर बनाइदिन्छु भन्छ, भोलि अर्कोले खानेपानी दिन्छु भन्छ— तर काम गर्दैनन्,” उनले भनिन्।
श्रीदेव साहका अनुसार नेताहरू नसुध्रिएकै कारण गत भदौमा ‘जेनजी’ युवाहरूले विद्रोह गरेका थिए। भदौ २३ र २४ गते भएको आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो। त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। सोही सरकारले देशभर फागुन २१ गते निर्वाचन गराउँदैछ। तर भुइँ तहका जनतामा अझै विश्वासको संकट छ। “नयाँ–पुराना सबैले पुरानै बाचा दोहोर्याइरहेका छन्। कसरी विश्वास गर्नेरु” श्रीदेव साह प्रश्न गर्छन्।
रोजगारी, कृषि र स्वास्थ्य मुख्य मुद्दा
क्षेत्रका युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेका छन्। किसान उत्पादनको उचित मूल्य नपाएर चिन्तित छन्। गाउँमा पर्याप्त स्वास्थ्य सेवा नहुँदा बिरामी सहर धाउन बाध्य छन्। यी समस्या प्रत्येक घरका साझा पीडा बनेका छन्। त्यसैले मतदाताहरू भाषण होइन, कार्यान्वयनको सुनिश्चितता मागिरहेका छन्।
विगतका नतिजास् कडा प्रतिस्पर्धाको इतिहास
सिरहा–३ राजनीतिक रूपमा प्रतिस्पर्धात्मक क्षेत्र मानिन्छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनस् लीलानाथ श्रेष्ठ ९नेकपा एमाले० २८,०६४ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी विश्वनाथ साह ले २६,८८२ मत प्राप्त गरेका थिए। २०७४ को निर्वाचनस् वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा लीलानाथ श्रेष्ठ नै २३,२२७ मतसहित विजयी हुँदा संघीय समाजवादी फोरमका अशेश्वर यादव ले २१,२२० मत पाएका थिए। २०७० को संविधानसभा निर्वाचनस् सीतादेवी यादव ९नेपाली कांग्रेस० विजयी भएकी थिइन्।
यसपटक ४१ उम्मेदवार मैदानमा
आगामी निर्वाचनमा एमालेबाट लीलानाथ श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीबाट विश्वनाथ साह पुनः प्रतिस्पर्धामा छन्। त्यसैगरी नेपाली कांग्रेसबाट सुभाषचन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शम्भु यादव, जसपाबाट असेश्वर यादव, जनमत पार्टीबाट रोहित महतो, राप्रपाबाट देवदयाल सिंहसहित दलगत र स्वतन्त्र गरी ४१ जना उम्मेदवार चुनावी मैदानमा छन्।
निष्कर्ष
सिरहा–३ मा चुनावी चहलपहल बढ्दो छ, तर मतदाताको मन जित्न भाषण मात्र पर्याप्त देखिँदैन। विगतका अधुरा प्रतिबद्धताले विश्वास घटाएको छ। यसपटक मतदाताले उधारो आश्वासन होइन, ठोस योजना र कार्यान्वयनको ग्यारेन्टी खोजिरहेका छन्। परिणामले मात्र विश्वास फर्काउनेछ।