लमखुट्टेको टोकाइ र असावधानीले ज्यानै सम्म जान सक्छ । हो,गर्मी र वर्षाको मौषममा तपाइ हामीलाइ लामखुट्टेले नटोकेको दिन हुदैन । ज्वरो आयो बीसन्चो भयो भने त्यसलाइ हामी मौषमी रोग हो केही दिनमा ठीक भइहाल्छ नी, ठीक भएन भने चाँही डाक्टरको मा जाउँला भनेर टारिदीन्छौँ । तर यस्तो असावधानीले ज्यानै सम्म जान सक्छ । लामखुट्टेले टोकेपछी यस्तो के रोग लाग्छ, र यो कतीसम्म जटील हुन सक्छ, ।
मलेरिया
लामखुट्टेको टोकाइले लाग्ने मलेरियालाई औंलो पनि भन्ने गरिन्छ । सरूवा रोग अस्पताल, टेकुका पूर्व निर्देशक तथा फेमली फिजिसियन डा. सागरकुमार राजभण्डारीका अनुसार मलेरिया लाग्नुको मुख्य कारण प्लाज्मोडियम संक्रमित लामखुट्टेको टोकाइले रगतमा प्लाज्मोडियम प्रवेश गर्छ । यो समस्याले पहिला कलेजोमा प्रभाव पार्न थाल्छ । प्यारा साइट्सले बिस्तारै कलेजोको आकार बढाउँदै लैजान्छ । र, राता रक्त कोषिकामा प्रभावित पार्छ । टाउको दुख्ने, बान्ता हुने यस रोगका विशेष लक्षण हुन् । समयमै उपचार गर्न नसकेमा मलेरियाले ज्यानै सम्म लिन सक्छ ।
डेंगु
विश्वको आधा जनसंख्या डेंगुको जोखिममा छ । संक्रमित लामखुट्टेले टोकेपछि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, चक्कर लाग्ने, आँखाको भित्री भाग दुख्ने, मांसपेशी वा जोर्नी दुख्ने र शरीर गलेको महसुस हुने लगायतको लक्षण देखा पर्छ । यो समस्यामा सबैभन्दा ठूलो चुनौती भनेको रगत जम्न नदिने प्लेट लेट्स कम हुनु हो । मलेरिया निम्त्याउने एनोफलिसि लामखुट्टेले राती टोक्ने गर्दछ । डेंगु निम्त्याउने एडिस लामखुट्टे दिनमा सक्रिय रहन्छ । ‘घाम लाग्ने बित्तिकै एडिस लामखुट्टेले टोक्न थाल्छन्, जुन दिउँसोको चर्को घाममा तापक्रम बढेपछि सक्रिय कम हुन्छन् । साँझ बेलुकी ४ देखि ५ को बीचमा सक्रिय हुन्छन् र रातमा सेलाउँछन् ।’
यसबाट बच्न न त कुनै खोप, न त कुनै विशेष औषधि । त्यसैले लक्षण अनुसारको उपचार यसमा समावेश छ । ज्वरो कम गर्न पीडितलाई आराम गर्न, बढी पानी तथा झोलिलो खानेकुरा खान र दुखाइ नियन्त्रणको लागि प्यारा सिटामोल ट्याब्लेट खुवाइन्छ ।
जापानीज इन्सेफलाइटिस
यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्छ । मस्तिष्कलाई असर गरेपछि ज्वरो आउने, घाँटी बस्ने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग लागेको जस्तो लक्षण देखापर्ने हुन्छ । गम्भीर रुपमा असर पारेमा कोमा (बेहोस अवस्था) मा पु¥याउन सक्छ । यो रोग सुँगुर जस्ता जनावर र चराहरुलाई टोकेको लामखुट्टेले मानिसमा सार्छ । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउछ ।
जापानीज इन्सेफलाइटिसको निश्चित कुनै उपचार नभएकाले लक्षण अनुसारको उपचार गरिन्छ । जस्तै– ज्वरो आएमा कम्पन छुटेमा,टाउको दुखेमा त्यसलाई कम गर्ने उपचार हुन्छ । यस्तोमा शरीरको प्रतिरोधात्मक क्षमता बलियो हुनेहरुमा उपचारपछि बिस्तारै ठीक हुन्छन् । तर जसको प्रतिरोधात्मक क्षमता कम छ, उनीहरुको अवस्था गम्भीर बन्न सक्छ । ‘एचआईभी संक्रमित, मधुमेह जस्ता रोग र प्रतिरक्षा प्रणालीलाई हमला गर्ने रोग भएकाहरुमा भने आईसीयूदेखि भेन्टिलटरमै जाने सम्भावना हुन्छ । प्रतिरोध क्षमताले लड्न सक्ने र समयमै उपचार पाइएन भने ज्यानै जान सक्छ ।
चिकन गुनिया
यो लामखुट्टेको टोकाइबाट लाग्ने एक पीडादायी रोग हो जसले उच्च ज्वरो र जोर्नी दुख्ने गर्छ । यो रोगले शरीर यति कमजोर पार्छ कि कडा जोर्नी दुखाइको साथ ओछ्यानमा सुत्नुपर्ने अवस्था आउँछ । यस्तो दुखाइ हप्तौंसम्म रहन सक्छ । र, संक्रमणले पछि बाथको रोग पनि निम्त्याउन सक्छ ।’ यद्यपि यो सामान्यतया घातक नहुने तर प्रतिरोध क्षमता कम भएका र वृद्ध व्यक्तिहरूमा मृत्यु समेत गराउन सक्ने हुन्छ ।
हाल यसको उपचारका लागि कुनै औषधि र कुनै खोप बनेको छैन । यसबाट बच्ने सबैभन्दा सजिलो उपाय लामखुट्टेबाट बच्नु हो । राम्रो पक्ष भनेको एक पटक यसको सिकार भएपछि शरीरमा रोगप्रतिरोधात्मक क्षमता विकास हुन्छ । र, अर्को पटक संक्रमणको सम्भावना नरहने बताइन्छ ।
लामखुट्टेबाट सर्ने रोगबाट बच्न डा. राजभण्डारीको सुझाव
लामखुट्टेको टोकाइबाट बच्न यसको वृद्धिलाई रोक्नुपर्छ । राति सुत्दा सधैं झुल प्रयोग गर्ने तथा घरबाहिर निस्कँदा लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनु नै यसबाट बच्ने प्रमुख उपाय हो । पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिनुका साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ । लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्किने तथा घर वरपर पानी जमेका खाल्डाखुल्डी पुर्नुपर्छ ।
