रियाद । सोमालियाले साउदी अरेबियासँग नयाँ सैन्य सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। कतारसँग हालै भएको रक्षा सम्झौतापछि सोमालियाले आफ्नो क्षेत्रीय समर्थन बलियो बनाउने उद्देश्यले रियादसँग पनि यस्ता पहल गरेको हो।

सम्झौतापत्रमा सोमालियाका रक्षा मन्त्री अहमद मोअल्लिम फिकी र साउदी समकक्षी राजकुमार खालिद बिन सलमान बिन अब्दुलअजिजले हस्ताक्षर गरेका थिए। सोमालियाको रक्षा मन्त्रालयका अनुसार, सम्झौताले दुवै देशबीच रक्षा तथा सैन्य सहकार्यको ढाँचा मजबुत बनाउने र रणनीतिक हितलाई अघि बढाउने लक्ष्य राखेको छ।
साउदी राजकुमार खालिदले पनि सामाजिक सञ्जाल एक्समार्फत सम्झौताको पुष्टि गरेका छन्। तर सम्झौताका थप विवरण सार्वजनिक गरिएको छैन।
गत महिना सोमालियाले कतारसँग पनि रक्षा सम्झौता गरेको थियो। त्यस सम्झौतामा सैन्य तालिम, अनुभव आदान–प्रदान, रक्षा क्षमता विकास र सुरक्षा सहकार्य विस्तार समेटिएको थियो।
विश्लेषकहरूले सोमालियाको यो कूटनीतिक पहल अफ्रिकाको ‘हर्न अफ अफ्रिका’ क्षेत्रमा बढ्दो तनावका बीच आएको उल्लेख गरेका छन्। गत डिसेम्बरमा इजरायलले सोमालिल्यान्डलाई आधिकारिक रूपमा मान्यता दिएपछि सोमालियाले असन्तुष्टि जनाउँदै आएको थियो। सोमालियाले इजरायलले सोमालिल्यान्डमा सैन्य आधार बनाउने योजना बनाउने चेतावनीसमेत दिएको छ।