सिरहा । सिरहा नगरपालिका–२१ लक्ष्मीनियाँ मलियाटोलस्थित जनता आधारभूत विद्यालय वर्षामा विद्यार्थीविहीन हुने अवस्था देखिएको छ। २९१ जना नामांकित विद्यार्थी भए पनि विद्यालयसम्म पुग्न मैनावती खोलाको पूर्वी शाखा पार गर्नुपर्ने भएकाले वर्षा लागेपछि पढाइ ठप्प हुने गरेको विद्यालयका प्रधानाध्यापक मो. अजमत अलि बताउँछन्। “पानी पर्नेबित्तिकै विद्यालय अगाडि जम्छ, विद्यार्थी तर्नै सक्दैनन्, कसरी विद्यालय आइपुग्नु?” उनले दुःखेसो पोखेका छन्।

विद्यालय मात्र हैन, यहाँका करिब २५० भन्दा बढी परिवार पनि सामान्य वर्षामा खेत, हाटबजार पुग्न मुस्किल भोग्नुपर्दा समस्यामा परेका छन्। खोलामा पुल नहुँदा स्थानीयहरूलाई पानीमै हेलिएर आउजाउ गर्नु पर्ने बाध्यता रहेको छ। सञ्जय कुमार गुप्ता भन्छन्, “सामान्य पानी पर्दा पनि जम्ने भएकाले वर्षौंदेखि समस्या भोग्दै आएका छौँ। पानीको उचित निकास नहुँदा झन् ठुलो समस्या हुन्छ।”
स्थानीयहरूले आफ्नै पहलमा बाँसको पुल बनाए पनि साना बालबालिकालाई विद्यालय पुग्न र फर्किन समस्या नै रहने गरेको छ। स्थानीय राजकिशोर यादवले भने, “यो खोलामा पुल बनाउने आश्वासन र बाचा दिएका सांसद, मन्त्रीहरू बने पनि हाम्रो समस्या सुनुवाइ भएको छैन। अघिल्ला निर्वाचनमा पनि यही वाचा भएको थियो, तर काम हुने देखिएको छैन।”
लक्ष्मीनियाँ मलियाटोल सिरहा निर्वाचन क्षेत्र नम्बर ३ भित्र पर्छ। यस क्षेत्रबाट लगातार दुई कार्यकाल २०७४ र २०७९ मा नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका थिए। उनी दुई पटक मन्त्रीसमेत बनेका थिए। यस क्षेत्रका नगर प्रमुख पनि एमालेकै नविन कुमार यादव हुन्।
अहिले चुनावको माहोल तातिरहेको छ। उम्मेदवारहरू गाउँ–गाउँ पुगेर आश्वासन बाँडिरहेका छन्, तर स्थानीय बस्तिका जनता बाचा र घोषणाभन्दा इमानदार र काम गर्न सक्ने नेताको खोजीमा छन्। यस निर्वाचनमा नेपाली कांग्रेसका शुभासचन्द्र यादव, नेकपा (एमाले)बाट लीलानाथ श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)बाट विश्वनाथ साह, जनता समाजवादी पार्टीबाट अशेश्वर यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शभ्भु कुमार यादव, उज्यालो नेपाल पार्टीका श्रवण पासवानसहित १२ दलका २९ जना स्वतन्त्र उम्मेदवारसमेत मैदानमा छन्।
स्थानीय जनताको माग भने स्पष्ट छ — पुल बनोस्, विद्यालयको पढाइ प्रभावित नहोस्, र चुनावमा वास्तविक काम गर्ने नेताले जितोस्। यसरी बस्तीमा वर्षायाममा दैनिक जीवन प्रभावित रहँदा, स्थानीय बासिन्दा र विद्यार्थीहरू दुवै सरकारी ध्यान र स्थायी समाधानको अपेक्षामा छन्।