business

वंशिलाघाटमा बेलिब्रिज सञ्चालनमा, खोटाङको दक्षिणी क्षेत्र पहिलोपटक तराईसँग सिधा जोडियो

वंशिलाघाटमा बेलिब्रिज सञ्चालनमा, खोटाङको दक्षिणी क्षेत्र पहिलोपटक तराईसँग सिधा जोडियो

खोटाङ । खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक तराईसँग सिधा यातायात सञ्जालमा जोडिएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–१ र खोटाङको वराहपोखरी गाउँपालिका–५, पौवासेरालाई जोड्ने वंशिलाघाटस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै उक्त क्षेत्रका नागरिकलाई तराई आउजाउ सहज भएको हो।

ADVERTISEMENT

शनिबारदेखि सञ्चालनमा आएको बेलिब्रिज खोटाङका जन्तेढुङ्गा, वराहपोखरी र खोटेहाङ गाउँपालिका मात्र नभई भोजपुरका केही गाउँका नागरिकका लागि समेत तराई प्रवेश गर्ने सबैभन्दा छोटो मार्ग बनेको छ। बेलटार नजिकै पर्ने वंशिलाघाटमा बेलिब्रिज जडान भएपछि खाद्यान्न आयात–निर्यात तथा यात्रु आवतजावतमा ठूलो सहजता आएको कोशी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले जानकारी दिए।

संघीय सरकारको बजेटबाट वंशिलाघाटमा मोटरेबल पक्की पुल निर्माणको काम जारी रहे पनि निर्माण सम्पन्न नहुञ्जेल अस्थायी समाधानका रूपमा बेलिब्रिज जडान गरिएको हो। कोशी प्रदेश भौतिक पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८१र८२ मा एक करोड ८७ लाख रुपैयाँमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको बेलिब्रिज गुरुकुल बिल्डर्स एन्ड सप्लायर्स प्रालि, रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख रुपैयाँमा जडान गरेको जनाएको छ। बेलिब्रिजको लम्बाइ ५१।८१ मिटर र चौडाइ ४।१ मिटर रहेको छ।

नदीमा पानीको बहाव बढ्न थालेपछि आगामी जेठ महिनामा बेलिब्रिज खोल्ने सहमति भएको बताइएको छ। हाल बेलिब्रिज जडान गरिएको स्थानमै १९ करोड १८ लाख ४१ हजार ४०० रुपैयाँ लागतमा मोटरेबल पक्की पुल निर्माण भइरहेको छ। सो पुल ३३ महिनाभित्र सम्पन्न गर्ने गरी २०७९ मङ्सिर १ गते कालिका–वेदांसी जेभीसँग सम्झौता गरिएको भए पनि निर्माण कार्यमा ढिलासुस्ती भएको गुनासो छ। निरन्तर दबाबपछि हाल निर्माण कम्पनीले काम तीव्र गतिमा अगाडि बढाइरहेको मन्त्री राईले बताए।

यसअघि वंशिलाघाटमा झोलुङ्गे पुलकै भरमा ठेलागाडी प्रयोग गरी सामान ओसारपसार गर्नुपर्ने बाध्यता थियो। हिउँद याममा स्थानीयले जोखिम मोलेर काठका डुङ्गाबाट नदी पार गर्ने गर्थे। बेलिब्रिज सञ्चालनमा आएसँगै केही महिनाका लागि भए पनि उक्त सास्तीबाट स्थानीयवासीले मुक्ति पाएका छन्।