ललितपुर । ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८२ मा पुरुष एकलतर्फ प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गएको छ। प्रतियोगिताको तेस्रो दिन सम्पन्न खेलहरूमा सप्तरीका विष्णु कटुवाल र एपीएफका भोजबहादुर गुरुङसहित आठ खेलाडी अन्तिम आठ अर्थात् क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

विष्णु कटुवालले पुलिसका नगेन्द्र लिम्बूलाई कडा प्रतिस्पर्धापछि १८–२१, २१–१८, २१–१८ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए। त्यस्तै एपीएफका भोजबहादुर गुरुङले पुलिसकै सुनिल जोशीलाई १४–२१, २१–९, २१–१८ ले हराउँदै अन्तिम आठमा प्रवेश गरे। पुरुष एकलतर्फ नै नेपाल पुलिस क्लबका जीवन आचार्य, नेपाली सेनाका विधान अधिकारी, एपीएफका क्षितिज खनाल, सेनाकै नरेन्द्र बम, पुलिसका पूर्ण थापा र सेनाका प्रफुल महर्जनले पनि क्वाटरफाइनल यात्रा तय गरेका छन्।
जीवन आचार्यले आर्मीका अभय महरालाई १४–२१, २१–१६, २१–१८ ले पराजित गरे भने विधान अधिकारीले एपीएफका देवराज रानालाई १६–२१, २१–१५, २१–१२ ले हराए। एपीएफका क्षितिज खनालले पुलिसका कविर केसीलाई २१–१५, २१–१२ ले पराजित गरे भने नरेन्द्र बमले पुलिसका दीपकबहादुर बोहरालाई १९–२१, २३–२१, २१–१७ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाए।
त्यस्तै पुलिसका पूर्ण थापाले ओखलढुङ्गाका टिकाध्वज राईलाई २१–१४, २१–१४ ले पराजित गरे भने सेनाका प्रफुल महर्जनले पुलिसका जोन जसराजलाई २१–३, २१–८ को सहज जित निकाल्दै अन्तिम आठमा प्रवेश गरे।
यसैबीच यु–१७ महिला एकलतर्फ पनि प्रतिस्पर्धा जारी छ। बालकुमारी रिमिक्स क्लबकी सिभिलिका गिरीले भैसेपाटी स्पोर्ट्स एकेडेमीकी स्वीकृती कार्कीलाई १९–२१, २१–१७, २१–९ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइन्। त्यस्तै बालकुमारी रिमिक्सकै बिशेष्ठा खड्काले आर्मीकी युमिका सामपाङ्ग राईलाई २१–१२, २१–९ ले हराउँदै अन्तिम आठमा प्रवेश गरिन्। यु–१७ महिला एकलतर्फ क्वाटरफाइनल पुग्ने अन्य खेलाडीहरूमा बालकुमारी रिमिक्सकी युश्ना महर्जन, आर्मीकी सम्बृद्धि श्रेष्ठ र अजरेन्का सेरचन तथा फिटनेपाल स्पोर्ट्स कम्प्लेक्सकी निभा राई रहेका छन्।
युश्ना महर्जनले कपिलवस्तुकी रविना विष्टलाई २१–१२, २१–१० ले पराजित गरिन् भने सम्बृद्धि श्रेष्ठले देवीनगरकी दिव्यानी आचार्यलाई २१–५, २१–५ ले हराइन्। अजरेन्का सेरचनले रुचिरा वज्राचार्यलाई २१–८, २१–३ ले पराजित गरिन् भने निभा राईले डियरवाक सिफल स्कुलकी इरादा तिमल्सिनालाई २१–५, २१–१ ले हराइन्।
ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा देशभरका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगिताका आगामी चरणका खेलहरूले उपाधि होडलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ।