अंकारा । टर्कीका अनुसन्धानकर्ताहरूले प्राचीन रोमन चिकित्सामा मानव मल प्रयोग गरिएको पहिलो भौतिक प्रमाण फेला पारेका छन्। यससम्बन्धी अध्ययन प्रतिवेदन जर्नल अफ आर्कियोलोजिकल साइन्सः रिपोर्ट्स मा प्रकाशित गरिएको छ।

सिवास कुम्हुरियत विश्वविद्यालयका पुरातत्त्वविद् सेन्कर अतिलाले बर्गामा संग्रहालयमा सुरक्षित राखिएका रोमनकालीन साना काँचका बोतलहरूको परीक्षणका क्रममा उक्त प्रमाण फेला पारेका हुन्। अनुसन्धानका क्रममा सात वटा भाँडामा अवशेष देखिए पनि दोस्रो शताब्दीको पर्गामोन सहरबाट उत्खनन गरिएको एउटा बोतलबाट मात्र स्पष्ट र निर्णायक नतिजा प्राप्त भएको जनाइएको छ।
बोतलभित्र रहेको खैरो पदार्थको वैज्ञानिक परीक्षण गर्दा त्यसमा मानव मल, उच्च मात्रामा थाइम ९एक प्रकारको जडीबुटी० र जैतुनको तेल रहेको पुष्टि भएको अतिलाले बताएका छन्। उनका अनुसार उक्त मिश्रण प्रख्यात रोमी चिकित्सक ग्यालेनले आफ्नो ग्रन्थमा वर्णन गरेको औषधिसँग मिल्दोजुल्दो छ। ग्रीक मूलका ग्यालेन रोमन साम्राज्यका तीन सम्राटका व्यक्तिगत चिकित्सक थिए र उनका चिकित्सा ग्रन्थहरूले करिब १ हजार ५०० वर्षसम्म प्रभाव पारेका थिए। “ग्यालेनले वर्णन गरेको ठ्याक्कै त्यही उपचार फेला पर्नु हाम्रो लागि अप्रत्याशित र अत्यन्त रोमाञ्चक क्षण थियो,” अतिलाले उल्लेख गरेका छन्।
अध्ययनका अनुसार प्राचीन ग्रन्थहरूमा मानव तथा जनावरको मललाई सुन्निने, संक्रमण तथा प्रजननसम्बन्धी समस्याको उपचारका रूपमा प्रयोग गरिएको उल्लेख पाइन्छ। अनुसन्धानकर्ताहरूका अनुसार त्यस समय यस्तो पदार्थलाई घिनलाग्दो होइन, शक्तिशाली औषधिका रूपमा हेरिन्थ्यो।
सामान्यतया लामो घाँटी भएका यस्ता काँचका बोतल अत्तर राख्न प्रयोग हुने गर्थे। तर उक्त नमुना भने औषधि राख्न पुनः प्रयोग गरिएको देखिएको छ। थाइमको प्रयोग जीवाणुनाशक गुणका साथै दुर्गन्ध दबाउन गरिएको हुन सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ।
अनुसन्धान टोलीका अनुसार यस खोजले आधुनिक चिकित्सामा प्रयोग हुने ‘फिकल ट्रान्सप्लान्ट’ ९स्वस्थ व्यक्तिको मल बिरामीमा प्रत्यारोपण गर्ने विधि० को अवधारणा प्राचीन कालमै ज्ञात रहेको संकेत गर्छ। उल्लेखनीय छ, अमेरिकाको औषधि प्रशासनले पुनरावर्ती आन्द्रा संक्रमण रोक्न दुई प्रकारका फिकल ट्रान्सप्लान्टसम्बन्धी उत्पादनलाई स्वीकृति दिइसकेको छ।
लिखित इतिहासमा मात्र सीमित रहेको जानकारीलाई प्रत्यक्ष पुरातात्त्विक प्रमाणले पुष्टि गरेको भन्दै अनुसन्धानकर्ताहरूले यसलाई रोमन चिकित्सा इतिहासको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्।