काठमाडौं । अल–नासरका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको भविष्य यतिबेला अन्योलमा परेको छ। साउदी प्रो–लिगमा बढ्दो असन्तुष्टिका बीच उनी क्लब छाड्न सक्ने चर्चा चुलिएको छ। यससँगै ४१ वर्षीय फरवार्ड पुनः युरोप फर्किन सक्ने सम्भावनाबारे विभिन्न अड्कलबाजी सुरु भएका छन्।

अल–नासरसँग रोनाल्डोको सम्झौता विश्व फुटबलकै सबैभन्दा महँगोमध्ये एक मानिन्छ। उनी दैनिक झन्डै ५ लाख पाउन्ड आम्दानी गर्ने बताइन्छ। तर साउदी पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) अन्तर्गतका क्लबहरूबीच हुने आर्थिक बाँडफाँड र व्यवस्थापनप्रति उनी असन्तुष्ट रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रोनाल्डो पछिल्ला दुई खेलमा मैदान उत्रिएका थिएनन्, यद्यपि टोलीले दुवै खेल जितेको थियो। २०२३ मा साउदी लिगमा सनसनीपूर्ण सरुवापछि उनले उत्कृष्ट प्रदर्शन गर्दै लिगमा प्रभाव जमाएका थिए। तर क्लब व्यवस्थापन र लिग संरचनाबारे उनको असन्तुष्टि बढ्दै गएको बताइन्छ।
प्रतिवेदनअनुसार रोनाल्डोको सम्झौतामा करिब ४४ मिलियन पाउन्ड (६० मिलियन डलर) बराबरको रिलिज क्लज रहेको छ। आगामी ट्रान्सफर विन्डोमा नै उनी सक्रिय हुन सक्ने अनुमान गरिएको छ भने २०२६ को समरसम्म क्लब छाड्ने सम्भावना पनि उल्लेख गरिएको छ।
यसैबीच उनलाई तेस्रो पटक म्यानचेस्टर युनाइटेड फर्काउने विषयमा समर्थकमाझ चर्चा चले पनि क्लबको आधिकारिक धारणा भने सकारात्मक देखिँदैन। स्काइ स्पोर्ट्सका अनुसार युनाइटेडले रोनाल्डोलाई पुनः भित्र्याउने कुनै योजना बनाएको छैन। क्लबका पूर्वडिफेन्डर वेस ब्राउनले पनि उनको पुनरागमन सम्भावना न्यून रहेको बताएका छन्। उनका अनुसार एमएलएस वा पोर्चुगल क्लब स्पोर्टिङ लिस्बन फर्किने विकल्प बढी सम्भावित हुन सक्छ।
केही समर्थकले उनलाई लिओनल मेसीसँग एमएलएस क्लब इन्टर मियामीमा सँगै खेलिरहेको देख्न चाहेको चर्चा पनि छ। तर अहिलेसम्म कुनै औपचारिक निर्णय सार्वजनिक भएको छैन।
रोनाल्डोको मुख्य लक्ष्य आगामी विश्वकप खेल्नु रहेको बताइन्छ। त्यसका लागि नियमित खेल समय र उत्कृष्ट फिटनेस आवश्यक हुने विश्लेषकहरूको भनाइ छ। विश्वकपपछि मात्र उनले आफ्नो खेल जीवनको अन्तिम निर्णय लिन सक्ने अनुमान गरिएको छ।
औपचारिक घोषणा नआएसम्म भने रोनाल्डोको ट्रान्सफर गुञ्जन रोकिने सम्भावना कम देखिन्छ।