Global News

रुसी आक्रमणको भयले युक्रेनी महिलाले पतिको चिहान गाउँबाट राजधानी किभमा सारिन

रुसी आक्रमणको भयले युक्रेनी महिलाले पतिको चिहान गाउँबाट राजधानी किभमा सारिन

किभ।  रुसले आक्रमण गरेर आफ्नो गाउँ कब्जा गर्न सक्ने भयका कारण युक्रेनकी एक महिलाले आफ्ना शहीद पतिको चिहान गाउँबाट राजधानी किभमा सारेर पुनः दाहसंस्कार गरेकी छिन्। पूर्वी युक्रेनकी नतालियाले आफ्ना पति भितालीको शव उत्खनन गरी सयौँ किलोमिटर टाढा किभ ल्याएर सैनिक सम्मानसहित पुनः माटोमा पुरेकी हुन्।

ADVERTISEMENT

किभस्थित सैनिकहरूको चिहानस्थलमा मंगलध्वनि र बन्दुकको सलामीबीच नतालियाले आफ्ना पति भितालीलाई दोस्रोपटक अन्तिम विदाइ दिइन्। भितालीको तीन वर्षअघि पूर्वी डोनबास क्षेत्रमा रुसी फौजसँगको लडाइँमा ज्यान गएको थियो। सुरुमा उनलाई आफ्नो गृहसहर स्लोभ्यान्स्कमा गाडिएको थियो।

तर, रुसी सेनाको गतिविधि सहर नजिकिँदै गएपछि नतालियाले ठूलो जोखिम मोलेर शव उत्खनन गरिन् र राजधानी किभमा ल्याएर पुनः दाहसंस्कार गरिन्।
‘स्लोभ्यान्स्कमा गाड्दा युद्ध चाँडै सकिन्छ भन्ने लागेको थियो,’ सैनिक सम्मानपछि नतालियाले भनिन्, ‘तर मोर्चा नजिकिँदै जाँदा भितालीको चिहान पनि कब्जामा पर्ने डरले मन शान्त भएन।’

भिताली पेशाले सेरामिक कलाकार थिए। तर सन् २०२२ को सुरुवातमा रुसले युक्रेनमाथि व्यापक आक्रमण गरेपछि उनले स्वेच्छाले सेनामा भर्ती भएर मोर्चा समाते। त्यतिबेला नतालिया गर्भवती थिइन्। दम्पतीकी छोरी जन्मिनुअघि नै भिताली युद्धमा मारिए।
‘उनी देशप्रेमी थिए। जान चाहँदैनथे, तर देशका लागि जानैपर्थ्यो,’ नतालियाले आँसु पुछ्दै भनिन्।

अग्रपंक्तिनजिक स्लोभ्यान्स्क

स्लोभ्यान्स्क सहर अहिले अग्रपंक्तिको नजिक छ। नतालियाका अनुसार त्यहाँ ड्रोन आक्रमण, मिनीबसमा आक्रमण र ग्लाइड बमका खाल्डा देखिनु सामान्य भइसकेको छ।
‘पहिले हप्ता–हप्तामा आक्रमण हुन्थ्यो, अहिले दुई–तीन दिनमै हुन्छ,’ उनले भनिन्।

युद्ध र वार्ताबीच मानवीय पीडा

यसैबीच, अमेरिकाको मध्यस्थतामा युक्रेनमा शान्ति स्थापनाका लागि वार्ता चलिरहेको भए पनि रुसले आक्रमणलाई थप तीव्र बनाएको छ। सबैभन्दा संवेदनशील मुद्दा डोनबास क्षेत्रको भविष्यलाई लिएर छ। स्लोभ्यान्स्क यही क्षेत्रभित्र पर्छ।

किभ वर्तमान नियन्त्रणको आधारमा युद्धविराम चाहन्छ भने मस्कोले पूरै डोनबास क्षेत्र हस्तान्तरणको माग गरिरहेको छ। यी राजनीतिक समीकरणबीच नतालियाजस्ता हजारौँ युक्रेनी परिवार युद्धको भय, विस्थापन र असह्य मानवीय निर्णय लिन बाध्य भइरहेका छन्।