भोजपुर। रामप्रसाद राई गाउँपालिकाले युवाहरूलाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्ने उद्देश्यले लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको ४५ दिने निःशुल्क विशेष तयारी कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाभित्र रहेका इच्छुक तथा योग्यता पुगेका युवालाई लक्षित गर्दै कार्यक्रम सुरु गरिएको हो। गाउँपालिकाका अध्यक्ष थामबहादुर राईका अनुसार स्थानीय तहबाटै लोक सेवा र शिक्षक सेवासम्बन्धी सचेतना फैलाएर सक्षम, प्रतिस्पर्धी र राष्ट्रप्रति उत्तरदायी कर्मचारी उत्पादन गर्ने लक्ष्यसहित कक्षा सञ्चालन गरिएको हो। उनले युवापुस्तामा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्दै उनीहरूलाई सक्षम, सबल र आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताए।

अध्ययनरत तथा आवश्यक योग्यता पुगेका विद्यार्थीलाई लक्षित गरेर लोक सेवा र शिक्षक सेवा तयारी कक्षा सञ्चालन गरिरहेका छौँ,अध्यक्ष राईले भने, “युवालाई रोजगारीसँगै दिगो जीविकोपार्जनका आधारमा जोड्ने लक्ष्य हाम्रो हो। यस तयारी कक्षाले सरकारी सेवामा प्रवेश गर्ने अवसर सिर्जना गर्ने विश्वास लिएका छौँ।
भोजपुर बहुमुखी क्याम्पस परिसरमा कक्षा
गाउँपालिकाबाट गई भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई प्राथमिकतामा राख्दै सोही क्याम्पस परिसरमा कक्षा सञ्चालन भइरहेको छ। आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई विशेष लाभ पुर्याउने उद्देश्यले कार्यक्रम निःशुल्क राखिएको जनाइएको छ।
हाल उक्त तयारी कक्षामा ५० जना विद्यार्थी सहभागी छन्। नियमित कक्षा, नमुना प्रश्नपत्र अभ्यास, समूह छलफल तथा विषयगत मार्गदर्शनमार्फत तयारीलाई प्रभावकारी बनाइँदै आएको छ। सहभागी विद्यार्थीहरूले स्थानीय सरकारबाट प्राप्त सहयोगले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन्।
प्रतिस्पर्धात्मक वातावरण गाउँमै
ग्रामीण क्षेत्रमै प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने अवसर उपलब्ध गराइएपछि विद्यार्थी र अभिभावक दुवै खुसी भएका छन्। यसअघि तयारीका लागि सदरमुकाम वा बाहिर जानुपर्ने बाध्यता रहेको अवस्थामा स्थानीय तहको पहलले सहज वातावरण सिर्जना गरेको बताइएको छ। गाउँपालिकाले आवश्यकता र उपलब्धिका आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्दै सार्वजनिक सेवामा युवाको सहभागिता बढाउने दीर्घकालीन लक्ष्य गाउँपालिकाले अघि सारेको छ।