मेक्सिको । मेक्सिकोमा सेनाले सञ्चालन गरेको ड्रग्स तस्करीविरुद्धको विशेष अपरेशनका क्रममा Nemesio Oseguera Cervantes मारिएका छन्। ‘एल मेन्चो’ नामले चिनिने ५९ वर्षीय ओसेगुरा Jalisco New Generation Cartel (सिजेएनजी) का प्रमुख थिए र विश्वकै कुख्यात लागूऔषध कारोबारीमध्ये एक मानिन्थे।

मेक्सिकोको संघीय सुरक्षा बलले विभिन्न राज्यमा एकसाथ अपरेशन सुरु गरेको थियो। त्यसक्रममा पश्चिमी राज्य Jalisco अन्तर्गत तापाल्पा क्षेत्रमा प्रहरीसँग भएको भीषण झडपमा ओसेगुरा मारिएको जनाइएको छ। उक्त कारबाहीमा सिजेएनजीका चार सदस्य मारिनुका साथै तीन प्रहरी घाइते भएका छन्।
ओसेगुराको नेतृत्वमा सिजेएनजी मेक्सिकोभित्रैको सबैभन्दा शक्तिशाली र कठोर आपराधिक समूहका रूपमा उदाएको थियो। उनी पूर्व प्रहरी अधिकारीसमेत रहेका थिए। सन् २०१० मा जेलिस्कोबाट सुरु भएको यो कार्टेलले अहिले मेक्सिकोका अधिकांश क्षेत्रमा प्रभाव विस्तार गरेको छ।
उनको मृत्युको खबर सार्वजनिक भएपछि विभिन्न क्षेत्रमा हिंसा भड्किएको छ। प्रहरीले जनाएअनुसार सिजेएनजीसँग सम्बन्धित संदिग्ध समूहहरूले बस जलाउने तथा सुरक्षाकर्मीसँग भिडन्त गर्ने जस्ता गतिविधि गरेका छन्।
मेक्सिकोको रक्षा मन्त्रालयले अपरेशन योजनाबद्ध र सटिक रूपमा सम्पन्न गरिएको जनाएको छ। कारबाहीमा मेक्सिकन एयरफोर्सका विमान तथा नेशनल गार्डलाई समेत परिचालन गरिएको थियो। ठूलो संख्यामा हतियारयुक्त सवारीसाधन र सामग्री जफत गरिएको मन्त्रालयले जनाएको छ।
यसबीच, United States Department of State ले अर्को सूचना जारी नभएसम्म आफ्ना नागरिकलाई मेक्सिकोमा सुरक्षित आवास वा होटलमै बस्न अपिल गरेको छ। अमेरिकी अधिकारीहरूले महत्वपूर्ण सूचना दिएर अपरेशनमा सहयोग गरेको मेक्सिकोको राष्ट्रिय सुरक्षा कार्यालयले जनाएको छ। अमेरिकाका एक रक्षा अधिकारीले अमेरिकी टास्क फोर्सले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
ओसेगुराबारे सूचना दिनेलाई १ करोड ५० लाख डलर पुरस्कार दिने घोषणा यसअघि अमेरिकी विदेश विभागले गरेको थियो। सिजेएनजीले अमेरिकामा ठूलो परिमाणमा लागूऔषध आपूर्ति गर्दै आएको आरोप छ। विशेषगरी फेन्टानिल उत्पादन र तस्करीबाट उसले अर्बौं डलर आम्दानी गर्ने गरेको सुरक्षा निकायहरूको भनाइ छ।