दार्चुला । दार्चुलाको एक रेडियोमा २०७८ देखि काम गर्दै आएकी सारंगी खत्री आसन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन प्रहरीको रूपमा खटिएकी छन्। खत्री जिल्ला प्रहरी कार्यालयद्वारा सदरमुकाम खलंगामा खटाइएको भए पनि उनले रेडियोमा आफ्नो ड्युटी निरन्तर जारी राखेकी छन्।

खत्री बिहान ५ बजेदेखि १० बजेसम्म रेडियोमा, त्यसपछि १० बजेदेखि २ बजेसम्म निर्वाचन प्रहरीको ड्युटी गर्दै आएकी छिन्। उनले भनिन्, “रेडियोको आम्दानीले मात्र जीवन धान्न सकिँदैन। बेरोजगारीका कारण थोरै समयका लागि भए पनि निर्वाचन प्रहरीमा भर्ना भएको हुँ।
दार्चुलाकै मार्मा गाउँपालिका–४ घर भएकी खत्री जिल्लामा कार्यरत थोरै महिला पत्रकारमध्ये पर्छिन्। नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिँह धामीले भने, “दुर्गम क्षेत्रमा पत्रकारिता गरेर मात्र जीविका चलाउन गाह्रो छ। महिला पत्रकारहरू लामो समय टिक्न कठिनाइ भोग्छन्।
खत्रीले भोलिका दिनमा पनि पत्रकारितामा सक्रिय रहने मनसाय राखेकी छिन्। उनले भनिन्, “रहरले पत्रकारितामा छु। निर्वाचन प्रहरीको भूमिका बाध्यताका कारण बनेको हो। तर चुनावमा प्रहरीको भूमिकामा रहँदा पनि देशको सेवा गर्न पाउँदा खुसी छु। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार, दार्चुलामा २९७ जना महिला निर्वाचन प्रहरी भर्ती भएका छन्।