तेहरान । इरान र इजरायलबीच सुरु भएको प्रत्यक्ष सैन्य तनाव पाँचौँ दिनमा प्रवेश गरेको छ। बुधबार बिहानसम्म इरान, इजरायल, लेबनान र खाडी क्षेत्रका विभिन्न मुलुकमा आक्रमण र प्रतिआक्रमण जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। क्षेत्रीय शक्तिहरू समेत तानिँदै जाँदा द्वन्द्वको दायरा फराकिलो बन्दै गएको संकेत देखिएको छ।

तेहरान वरिपरि विस्फोट, सुरक्षा केन्द्र निशानामा
इरानी सरकारी स्रोतहरूका अनुसार राजधानी तेहरान वरिपरि तथा अन्य प्रान्तहरूमा विस्फोटका घटना भएका छन्। इरानले इजरायलले नयाँ चरणको हवाई आक्रमण सुरु गरेको दाबी गर्दै अर्धसैनिक बल बासिज र आन्तरिक सुरक्षा कमान्ड केन्द्रहरूलाई लक्षित गरिएको आरोप लगाएको छ। इस्फहाननजिक कालो धुवाँ देखिएको तस्बिर सार्वजनिक भएको छ, यद्यपि क्षतिको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
यता इजरायली सेनाले इरानबाट प्रहार गरिएका मिसाइलहरू रोक्न आफ्नो वायु प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ। उत्तरी क्षेत्रमा लेबनानबाट आएका रकेटमध्ये अधिकांश अवरोध गरिएको दाबी गरिएको छ। यरुसेलम नजिकको बेइट शेमेश क्षेत्रमा कुनै वस्तु खसेको सूचना आए पनि त्यो रकेटको भग्नावशेष हो वा अन्य वस्तु हो भन्ने स्पष्ट भएको छैन।
लेबनानमा हवाई आक्रमण, बस्ती खाली गर्न आदेश
लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्र अरामुनमा भएको हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बालबेक क्षेत्रमा आवासीय भवनमा प्रहार हुँदा थप ५ जनाको ज्यान गएको सरकारी स्रोतले उल्लेख गरेको छ। इजरायलले दक्षिण लेबनानका दर्जनभन्दा बढी बस्ती खाली गर्न आदेश दिएको छ, जसले ठूलो मात्रामा आन्तरिक विस्थापनको जोखिम बढाएको छ।
खाडी क्षेत्रमा मिसाइल र ड्रोन अवरोध
कतारमा इरानी ब्यालिस्टिक मिसाइलले अल उदेइद एयर बेसलाई लक्षित गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। मानवीय क्षति नभएको दाबी गरिएको छ। साउदी अरबले अलखार्ज नजिक दुई क्रुज मिसाइल खसालेको र आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका नौ ड्रोन नष्ट गरिएको जनाएको छ। कुवेतमा हवाई अवरोधपछि खसेका भग्नावशेष आवासीय क्षेत्रमा पर्दा ११ वर्षीया बालिकाको मृत्यु भएको पुष्टि गरिएको छ।
समुद्री मार्गमा जोखिम
युके म्यारिटाइम ट्रेड अपरेसन्स ९यूकेएमटीओ० ले संयुक्त अरब इमिरेट्सको फुजैराह तट नजिक एक जहाजमा अज्ञात समूहले क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। जहाजमा ठूलो क्षति नभएको बताइए पनि समुद्री व्यापार मार्गमा सुरक्षा जोखिम बढेको विश्लेषण गरिएको छ।
क्षेत्रीय र अन्तर्राष्ट्रिय असर
विश्लेषकहरूका अनुसार यो द्वन्द्व केवल इरान–इजरायल सीमित नभई ‘प्रोक्सी’ समूह र क्षेत्रीय शक्तिहरूलाई समेत समेट्दै खाडी क्षेत्रभर फैलिन सक्ने जोखिममा छ। तेल आपूर्ति मार्ग, सामरिक हवाई अड्डा र आवासीय बस्ती लक्षित हुन थालेपछि मानवीय तथा आर्थिक संकट गहिरिने चिन्ता बढेको छ। अहिलेसम्म दुवै पक्षले आफ्नो कारबाहीलाई ‘प्रतिरक्षा’का रूपमा व्याख्या गरेका छन्। तर पाँचौँ दिनसम्म निरन्तर आक्रमण जारी रहँदा कूटनीतिक प्रयास प्रभावहीन देखिएको छ। अन्तर्राष्ट्रिय समुदायले तत्काल संयमता अपनाउन र युद्धविरामतर्फ अग्रसर हुन आग्रह गरिरहेको छ।
( एजेन्सीको सहयोग)