काठमाडौँ । मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रभावित हुँदा नेपालमा पनि यसको असर देखिन थालेको छ। ग्यास अभाव र मूल्य दबाब बढ्दै जाँदा ऊर्जा विज्ञहरूले दीर्घकालीन समाधानका रूपमा स्वदेशी विद्युत् उत्पादन विस्तार र वितरण पूर्वाधार सुदृढ गर्न सरकारलाई आग्रह गरेका छन्।

मध्यपूर्व क्षेत्रमा देखिएको राजनीतिक तथा सुरक्षा तनावले विश्व ऊर्जा बजारमा अस्थिरता बढाएको छ। त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ, जहाँ खाना पकाउने ग्यासको अभाव, लामो लाइन र आपूर्ति अनिश्चितता बढ्दै गएको छ।
नेपालजस्तो पेट्रोलियम पदार्थमा अत्यधिक निर्भर देशमा अन्तर्राष्ट्रिय बजारको सानो उतारचढावले पनि प्रत्यक्ष असर पार्ने गरेको छ। सरकारी तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१र८२ मा नेपालले करिब ३ खर्ब २६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ, जुन कुल आयातको करिब १६।८१ प्रतिशत हो। यसले नेपालको ऊर्जा क्षेत्रमा आयात निर्भरता अत्यधिक रहेको देखाउँछ।
ऊर्जा क्षेत्रका विज्ञहरूका अनुसार पेट्रोलियम संकटबाट दीर्घकालीन रूपमा बच्न स्वदेशी स्रोत—विशेषगरी जलविद्युत्—को प्रयोग बढाउनु अपरिहार्य छ। नेपालमा खाना पकाउने, यातायात र उद्योग सञ्चालनका लागि विद्युत् प्रयोग विस्तार गर्न सके आयात घट्ने र व्यापार घाटा कम हुने सम्भावना रहेको उनीहरूको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरण का अनुसार नेपालमा वर्षायाममा पर्याप्त विद्युत् उत्पादन भए पनि हिउँदमा भने माग धान्न कठिन हुने गरेको छ। अहिले पनि दैनिक २०० मेगावाटभन्दा बढी विद्युत् आयात गर्नुपरेको अवस्था छ। जलविद्युतको ठूलो सम्भावना हुँदाहुँदै पनि लगानी र पूर्वाधार अभावका कारण वर्षभरि पर्याप्त उत्पादन हुन सकेको छैन। ऊर्जा विज्ञ तथा नेपाल आयल निगम का पूर्व नायब कार्यकारी निर्देशक सुशील भट्टराई ले ग्यासको विकल्प खोज्नु आवश्यक भए पनि पूर्वाधार तयारीबिना विद्युत् प्रयोग विस्तार गर्दा थप समस्या उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। उनका अनुसार अहिलेका धेरै ट्रान्सफर्मर, सबस्टेसन र वितरण लाइनहरू ठूलो मात्रामा इन्डक्सन चुल्हो प्रयोगको अतिरिक्त भार धान्न सक्ने अवस्थामा छैनन्।
त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (IPPAN)का अध्यक्ष गणेश कार्की ले नेपालले दीर्घकालीन रूपमा ऊर्जा आत्मनिर्भरता हासिल गर्न विद्युत् उत्पादन र वितरण प्रणाली दुवैमा ठूलो लगानी गर्नुपर्ने बताएका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने अवरोधका कारण नेपाली भान्सा प्रभावित हुने जोखिमबाट बच्न स्वदेशी ऊर्जा स्रोतलाई प्राथमिकता दिनु आवश्यक छ।
विज्ञहरूका अनुसार नेपालले विद्युत् उत्पादन बढाएर खाना पकाउने, यातायात र उद्योग क्षेत्रमा क्रमशः विद्युत् प्रयोग विस्तार गर्न सके आर्थिक रूपमा पनि फाइदा पुग्नेछ। साथै बढी भएको विद्युत् छिमेकी देशहरूमा निर्यात गरेर अतिरिक्त आम्दानी पनि गर्न सकिने सम्भावना छ।
तर उनीहरूका अनुसार दीर्घकालीन समाधानका लागि एकीकृत ऊर्जा नीति, पर्याप्त भण्डारण पूर्वाधार, र विद्युत् वितरण प्रणालीको आधुनिकीकरण अपरिहार्य छ। अन्यथा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आउने प्रत्येक संकटले नेपालमा पुनः ग्यास अभाव र आपूर्ति संकट निम्त्याउने खतरा रहने उनीहरूको चेतावनी छ।