काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण संयुक्त अरब इमिरेट्स (यूएई)मा ट्रान्जिटमा रोकिएका नेपालीहरूको विवरण संकलन सुरु गरेको छ। इरान, इजरायल र संयुक्त राज्य अमेरिकाबीच विकसित भएको आक्रमण–प्रतिआक्रमणको अवस्थाले क्षेत्रीय हवाई उडान प्रभावित भएपछि नेपाली यात्रुहरू अलपत्र परेका हुन्।

मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले नेपाल फर्किने वा तेस्रो मुलुक जाने क्रममा यूएईमा रोकिएका नेपालीलाई अनलाइनमार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। विभागले विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याउँदै क्यूआर कोडमार्फत विवरण संकलन गरिरहेको जनाएको छ। यस कदमलाई सम्भावित उद्धार तथा सहजीकरण योजनाको प्रारम्भिक तयारीका रूपमा हेरिएको छ।
परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार हाल करिब २५० नेपाली यूएई ट्रान्जिटमा रोकिएका छन्। अबुधाबी र कुवेतस्थित नेपाली नियोगबाट प्राप्त विवरणअनुसार यो संख्या बढेर हजार नजिक पुग्न सक्ने अनुमान गरिएको छ।
खड्काका अनुसार ट्रान्जिटमा रहेका यात्रुहरू सम्बन्धित एयरलायन्सकै जिम्मामा छन्। हवाई उडान नियमित नभएसम्म उनीहरूको अस्थायी बसोबास र खानपानको व्यवस्था एयरलायन्समार्फत मिलाइएको छ। आकाश खुल्नेबित्तिकै प्राथमिकताका साथ गन्तव्यमा पठाउने तयारी भइरहेको उनले बताए।
विशेषज्ञहरूका अनुसार मध्यपूर्वमा विकसित सुरक्षा अवस्थाले अन्तर्राष्ट्रिय उडान तालिका अनिश्चित बन्दै गएको छ, जसको प्रत्यक्ष असर श्रम तथा वैदेशिक रोजगारीसँग जोडिएका नेपालीमा परेको छ। यूएई ट्रान्जिट हब भएकाले त्यहाँ रोकिएका यात्रुको संख्या थप बढ्न सक्ने आकलन गरिएको छ।
सरकारले स्थिति थप जटिल भएमा समन्वयात्मक उद्धार योजना अघि बढाउने संकेत दिएको छ भने प्रभावित नेपालीलाई आधिकारिक माध्यमबाट मात्रै सूचना लिन आग्रह गरिएको छ।