Global News

मध्यपूर्वमा बढ्दो युद्ध तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि

मध्यपूर्वमा बढ्दो युद्ध तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि

मध्यपूर्वमा बढ्दो युद्ध तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको हवाई आक्रमणपछि विश्व ऊर्जा आपूर्तिमा अवरोध हुने त्रास बढेपछि सोमबार एसियाली बजार खुल्नेबित्तिकै कच्चा तेलको मूल्य सन् २०२२ यताकै उच्च बिन्दुमा पुगेको हो। ब्रेन्ट क्रुडको मूल्य १५.५ प्रतिशतले बढेर प्रतिब्यारल १०७.१६ अमेरिकी डलर पुगेको छ भने नाइमेक्स लाइट स्वीट क्रुडको मूल्य १७ प्रतिशतभन्दा बढीले वृद्धि भई १०६.७७ डलर पुगेको छ।

ADVERTISEMENT

बजार विश्लेषकहरूले यस साता तेलको मूल्य १०० डलर नजिक पुग्ने अनुमान गरेका थिए तर एसियाली कारोबार सुरु भएको केही मिनेटमै अप्रत्याशित रूपमा मूल्य उकालो लागेको हो। इरानमाथि भएको आक्रमणमा तेल डिपोहरूलाई समेत निशाना बनाएपछि विश्वभर ऊर्जा सङ्कटको डर बढेको छ।

यससँगै विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्ग मानिने स्ट्रेट अफ हर्मुज बन्द हुन सक्ने आशंकाले बजार झनै अस्थिर बनेको छ। इरान र आसपासका क्षेत्रमा ऊर्जा पूर्वाधारहरू ध्वस्त पारिएका दृश्य सार्वजनिक भएपछि लगानीकर्ताहरू त्रसित बनेका छन्। यदि यो जलमार्ग आगामी मार्च अन्त्यसम्म बन्द भएमा तेलको मूल्य प्रतिब्यारल १५० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। तेलको मूल्य वृद्धिले विश्वभर उपभोक्ता र व्यवसायीहरूमा प्रत्यक्ष असर पर्ने देखिएको छ। पेट्रोल, डिजेल मात्र नभई हवाई इन्धन तथा रासायनिक मलका कच्चा पदार्थको मूल्य समेत बढ्ने निश्चित भएको विश्लेषकहरूले बताएका छन्। गल्फ क्षेत्रबाट हुने तेल तथा ग्यास आपूर्ति मुख्यतया एसियाली देशहरूमा खपत हुने भए पनि अहिले एसियाली उपभोक्ताहरूले अमेरिकी ग्यासका लागि उच्च मूल्यमा बोलकबोल गर्न थालेका छन्। यसको प्रभाव स्वरूप युरोपतर्फ जाँदै गरेका केही ग्यास ट्याङ्करहरू बाटोमै मोडिएर एसियातर्फ जान थालेका छन्।

यसबीच इरानमा सर्वोच्च नेता अली खामेनीको सम्भावित उत्तराधिकारीका रूपमा उनका छोरा मोजताबा खामेनीलाई चयन गरिएको खबर सार्वजनिक भएको छ। यसले इरानमा कट्टरपन्थी नेतृत्वको पकड कायम रहने र युद्ध चाँडै अन्त्य हुने सम्भावना कम रहेको संकेत गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेलको मूल्यमा आएको वृद्धिलाई इरानको परमाणु खतरा हटाउनका लागि तिर्नुपर्ने ‘सानो मूल्य’ भएको प्रतिक्रिया दिएका छन्। यद्यपि अमेरिकी ऊर्जा सचिवले तेल पूर्वाधारमा भएका आक्रमणमा अमेरिका नभई इजरायल संलग्न रहेको स्पष्ट पारेका छन्, जसले अमेरिकी घरेलु बजारमा बढ्दो इन्धन मूल्यप्रति सरकारको चिन्ता देखाएको छ।

तेलको मूल्यमा आएको उछालको प्रभाव सेयर बजारमा पनि देखिएको छ। सोमबार एसिया–प्रशान्त क्षेत्रका सेयर बजारहरूमा भारी गिरावट आएको छ। जापानको निक्केई २२५ सूचकांक ५ प्रतिशतभन्दा बढीले घटेको छ भने अष्ट्रेलियाको एएसएक्स २०० सूचकांकमा ३.५ प्रतिशतको गिरावट देखिएको छ। विश्वव्यापी अर्थतन्त्रमा मुद्रास्फीति थप बढ्ने चिन्ताले लगानीकर्ताहरू अन्यौलमा परेका छन्।