Politics

भोलिदेखि तीन फिल्म रिलिज, ‘आबाट आमा’ ले सबैभन्दा धेरै शो पायो

भोलिदेखि तीन फिल्म रिलिज, ‘आबाट आमा’ ले सबैभन्दा धेरै शो पायो

सुनसरी। शुक्रबारदेखि नेपाली सिनेमा हलहरूमा दुई नेपाली र एक हलिउड फिल्म एकसाथ प्रदर्शनमा आउने भएका छन् । हलहरूले प्रचार–प्रसार, स्टारकास्ट र जनरालाई आधार मानेर शो बाँडफाँट गरेका छन् ।

ADVERTISEMENT

चन्द्र पन्त निर्देशित नेपाली फिल्म ‘आबाट आमा’ ले अन्य दुई फिल्मको तुलनामा सबैभन्दा धेरै शो पाएको छ । यो फिल्मले शुक्रबारका लागि देशभर १५३ वटा शो प्राप्त गरेको छ, जुन सुरुवाती प्रदर्शनका हिसाबले उत्साहजनक मानिएको छ ।

फेमिली ड्रामा जनरामा निर्माण गरिएको यस फिल्ममा विपना थापा, प्रदीप रावत र पल शाह शीर्ष भूमिकामा देखिएका छन् । फिल्मको रनटाइम १६० मिनेट रहेको छ भने यसले युनिभर्सल सर्टिफिकेट पाएको छ ।

यसैगरी, बेनिशा हमालको शीर्ष भूमिका रहेको मल्टिस्टारर थ्रीलर ड्रामा ‘द ब्लू लाइट’ पनि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । फिल्मले देशभर ७२ वटा शो पाएको छ ।

फिल्ममा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, सृष्टि श्रेष्ठ र आयुष्मान जोशी मुख्य भूमिकामा छन् । १०१ मिनेट रनटाइम रहेको यस फिल्मलाई पीजी सर्टिफिकेट दिइएको छ र यसलाई मनोवैज्ञानिक थ्रीलरका रूपमा प्रस्तुत गरिएको छ ।

त्यस्तै, जोन्स रोबर्ट्स निर्देशित हलिउड फिल्म ‘प्राइमेट’ पनि एकसाथ रिलिज हुँदैछ । हरर जनराको यो फिल्मले देशभर ४५ वटा शो पाएको छ । फिल्मको रनटाइम ८९ मिनेट रहेको छ भने यसले एडल्ट सर्टिफिकेट पाएको छ ।

तीनै फिल्मले फरक–फरक दर्शक लक्षित गर्दै हलमा प्रतिस्पर्धा गर्ने देखिएको छ ।