भोजपुर । देशमा अवसरको खोजीमा युवाहरू विदेशिने क्रम बढिरहेका बेला भोजपुर नगरपालिका–५ बोखिमका एक युवा भने आफ्नै गाउँमा बसेर पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै स्वरोजगार बनेका छन्। भोजपुर नगरपालिका–५ बोखिम निवासी ज्ञानेन्द्र विश्वकर्मा परम्परागत कालिगड पेसामा सक्रिय छन्। स्नातक तहसम्म अध्ययन गरेका उनी पनि एक समय राम्रो अवसरको खोजीमा विदेश जाने सोचमा थिए। तर पुर्ख्यौली पेसा संकटमा पर्न थालेको महसुस भएपछि उनले यही क्षेत्रमा भविष्य खोज्ने अठोट गरे।

पुर्ख्यौली पेसाको संरक्षणसँगै स्वरोजगार बन्ने लक्ष्यले यो पेसा अँगालेको हुँ,” विश्वकर्माले भने, “अन्य काम गर्ने क्षमता हुँदाहुँदै पनि आफ्नै सीप र पहिचान जोगाउन यो मार्ग रोजेको छु। उनले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरी निर्माण गर्दै आएका छन्। मागअनुसार तरबार, कट्टीलगायतका सामग्री पनि तयार गर्ने गरेका छन्। परम्परागत शैलीमा हातैले बनाइने भोजपुरे खुकुरी गुणस्तरीय फलाम प्रयोग गरी मिहिनेतका साथ निर्माण गरिन्छ। उनका उत्पादन देशका विभिन्न जिल्लासम्म पुग्ने गरेका छन् भने केही सामग्री व्यक्तिगत मागअनुसार विदेशसमेत जाने गरेको छ।
खुकुरी निर्माण प्रक्रिया समयसाध्य र मेहनतपूर्ण भए पनि त्यसमा गर्वको अनुभूति हुने विश्वकर्मा बताउँछन्। “यो केवल पेसा मात्र होइन, हाम्रो पहिचान हो,” उनले भने, “यसैबाट आम्दानी गर्दै पेसालाई जोगाउने अठोट लिएको छु। उनका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न सके मात्र यो पेसा दीगो रूपमा संरक्षण हुन सक्छ। त्यसका लागि सीप विकास तालिम, प्रविधि सहयोग र प्रभावकारी बजार व्यवस्थापन आवश्यक रहेको उनको धारणा छ।
हाल कच्चा पदार्थको अभाव, मूल्यवृद्धि तथा सीमित बजार पहुँचजस्ता समस्याले चुनौती थपेको उनले बताए। गाउँमै उत्पादित सामग्रीलाई सिधै बाह्य बजारसम्म पुर्याउने व्यवस्था भए आम्दानी अझ वृद्धि हुने उनको विश्वास छ। राज्यबाट कच्चा पदार्थको सहज उपलब्धता, आधुनिक उपकरण, तालिम तथा बजारीकरणमा सहयोग प्राप्त भए कालिगड पेसा थप व्यवस्थित र आकर्षक बन्न सक्ने विश्वकर्माको भनाइ छ। पुर्ख्यौली सीपको संरक्षण र नयाँ पुस्तालाई आकर्षित गर्ने लक्ष्यसहित उनी आफ्नो पेसामा निरन्तर सक्रिय छन्।