भोजपुर । भौगोलिक विकटताका कारण आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका स्थानीयलाई लक्षित गर्दै टेम्केमैयुङ गाउँपालिकाले दुर्गम बस्तीहरूमा आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको छ।

गाउँपालिकाका नौवटै वडामा स्वास्थ्य चौकी भए पनि टाढा दूरीका कारण तीनदेखि पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेकाले छ स्थानमा थप स्वास्थ्य इकाइ स्थापना गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।
उनका अनुसार आवश्यक पर्दा तत्काल प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने, सामान्य औषधि वितरण गर्ने, प्राथमिक उपचार गर्ने तथा जटिल अवस्थाका बिरामीलाई परामर्शसहित रेफर गर्ने उद्देश्यले इकाइ सञ्चालन गरिएको हो। “स्थानीयलाई सहज स्वास्थ्य सेवा दिन छ वटा आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएका छौँ, आगामी दिनमा सेवाको गुणस्तर र पहुँच दुवै विस्तार गर्ने योजना छ,” अध्यक्ष बस्नेतले भने।
हाल वडा नं। १ तिम्माको खम्बुखा, वडा नं। २ का रुमला र वादुङ्ला, वडा नं। ५ खावाको चोलन्ती तथा वडा नं। ९ लेखर्कका वैराङ र काभ्रेमा स्वास्थ्य इकाइ सञ्चालनमा छन्। ती स्थानमा आधारभूत औषधि, प्राथमिक उपचार तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइँदै आएको जनाइएको छ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले दुर्गम भेगका नागरिक सामान्य उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न यो पहल गरिएको बताइन्। उनका अनुसार स्वास्थ्य सचेतना अभिवृद्धि, नियमित खोप सेवा, सुरक्षित मातृत्व कार्यक्रम तथा सरसफाइसम्बन्धी जनचेतनामूलक गतिविधि पनि सञ्चालन गर्ने योजना रहेको छ।
स्थानीयवासी गोरखबहादुर विष्टले गाउँमै स्वास्थ्य इकाइ स्थापना भएपछि सामान्य औषधिका लागि घण्टौँ धाउनुपर्ने बाध्यता हटेको बताए। स्वास्थ्य इकाइ स्थापनासँगै स्थानीयमा स्वास्थ्य सेवाप्रति विश्वास बढेको र आकस्मिक अवस्थामा तत्काल उपचार पाउने वातावरण बनेको जनाइएको छ।