Politics

भोजपुरमा आमाको नामबाट पहिलो नागरिकता, आदित्य दर्नाललाई प्रमाणपत्र प्रदान

भोजपुरमा आमाको नामबाट पहिलो नागरिकता, आदित्य दर्नाललाई प्रमाणपत्र प्रदान

भोजपुर ।  आमाको नामबाट नागरिकता दिने विषयमा लामो समयदेखि चल्दै आएको बहस र कानुनी प्रक्रियापछि भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय भोजपुरले टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको नामबाट नेपाली नागरिकता प्रदान गरेको हो।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी राजन पौडेलका अनुसार दर्नालले बुबाको पहिचान नखुलेका कारण लामो समयदेखि नागरिकता पाउन सकेका थिएनन्। “बुबाको पहिचान नखुल्दा नागरिकता नपाएको अवस्थामा आज आमा वसन्ती दमाइँको नामबाट नागरिकता प्रदान गर्‍यौँ,” प्रजिअ पौडेलले बताए।

अभिलेखमा दर्ता

जिल्ला प्रशासन कार्यालयको अभिलेखअनुसार आदित्य दर्नाललाई ०९–०१–८२–०३८१० नम्बरको नागरिकता प्रदान गरिएको छ। आवश्यक प्रक्रिया र कागजात पूरा गरेपछि आमाको नामबाट नागरिकता लिन सकिने व्यवस्था रहेको प्रशासनले जनाएको छ।

के–के चाहिन्छ कागजातरु

आमाको नामबाट नागरिकता लिनका लागि निम्न कागजात अनिवार्य गरिएको छः

जन्म दर्ता प्रमाणपत्र

शैक्षिक प्रमाणपत्र

आमाको नागरिकता प्रमाणपत्र

बुबा नभएको भनी सम्बन्धित स्थानीय तहबाट गरिएको मुचुल्का

निर्धारित अनुसूची फाराम

पतिको पहिचान नखुलेको भनी आमाले गरेको लिखित स्वघोषणा

प्रशासनका अनुसार यी सबै प्रक्रिया पूरा भएमा कानुनअनुसार आमाको नामबाट नागरिकता जारी गर्न सकिनेछ।

सामाजिक र कानुनी दृष्टिले महत्वपूर्ण कदम

नेपालमा आमाको नामबाट नागरिकता प्रदान गर्ने विषय लामो समयदेखि बहसको विषय बन्दै आएको थियो। विशेष गरी बुबाको पहिचान नखुलेका वा पारिवारिक कारणले नागरिकता नपाएका सन्तानका लागि यो व्यवस्था महत्वपूर्ण मानिएको छ।

भोजपुरमा जारी गरिएको यो पहिलो नागरिकताले अन्य योग्य व्यक्तिहरूलाई पनि प्रक्रिया पूरा गरी नागरिकता लिन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। स्थानीय तह र प्रशासनको समन्वयमा कानुनी व्यवस्था कार्यान्वयनतर्फ यो कदम अर्थपूर्ण रूपमा हेरिएको छ।