भारत । भारतमा खाना पकाउने एलपीजी ग्याँसको अभावले सर्वसाधारण र उद्योग दुवै प्रभावित भएका छन्। ग्यास डिपोमा लामो लाइन लागेको छ भने ग्यासको मूल्य ६० भारुले बढेको छ। होटल तथा पर्यटन क्षेत्र संकटमा परेको छ।

सरकारले एलपीजी वितरणमा अस्पताल, शैक्षिक संस्था र आपतकालीन सेवाहरूलाई प्राथमिकता दिँदै ठूलो उद्योगीभन्दा सर्वसाधारणलाई प्राथमिकतामा राख्न आदेश जारी गरेको छ। यस कारण बेंगलुरु, दिल्ली, हैदरावाद र मुम्बईजस्ता ठूला शहरका रेस्टुरेन्टहरूले आपूर्ति संकट भोगिरहेका छन्। होटल व्यवसायी संघहरूले अस्थायी रुपमा व्यवसाय बन्द गर्ने वा सञ्चालन घण्टा घटाउने निर्णय गरेका छन्।
स्विग्गी र जोमाटोजस्ता फुड डेलिभरी प्लेटफर्महरू पनि ग्यास अभावबाट प्रभावित भएका छन्। सरकारले कालोबजारी रोक्न र आपूर्ति सहज बनाउन विभिन्न कदम चालिरहेको छ। देशभित्रका रिफाइनरीहरूले एलपीजी उत्पादन बढाउने निर्देशन पाएका छन्।
भारतमा वार्षिक लगभग ३१.३ मिलियन टन एलपीजी खपत हुन्छ, जसको करिब ६२ प्रतिशत आयात गरिएको हुन्छ। अधिकांश आयात पश्चिम एशियाबाट हर्मुजको घाँटी हुँदै आउँछ। तर हर्मुज मार्ग अवरुद्ध भएको र पश्चिम एशियाका तेल उत्पादक देशहरूले उत्पादन घटाएको कारण आपूर्ति संकट उत्पन्न भएको छ।
इराकले आफ्नो दक्षिणी तेलखानीमा उत्पादन करिब ७० प्रतिशत घटाउँदै १.३ मिलियन ब्यारेल प्रतिदिन उत्पादन गरेको छ भने कुवेतले आपतकाल घोषणा गरेर उत्पादन घटाएको छ। यसैबीच, भारतीय अधिकारीहरूले अल्जेरिया, अस्ट्रेलिया, क्यानडा र नर्वेलगायत देशबाट ग्याँस आपूर्ति ल्याउने विषयमा छलफल गरिरहेका छन्।