काठमाडौं । २३ र २४ भदौका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन सुरक्षा तथा प्रशासनिक नेतृत्वमा रहेका केही उच्च अधिकारीमाथि फौजदारी कारबाही गर्न सिफारिस गरेको छ।
आयोगसम्बद्ध स्रोतका अनुसार परिस्थिति यकिन नगरी बल प्रयोग गरिएको निष्कर्ष निकाल्दै आयोगले तत्कालीन प्रहरी महानिर्देशक चन्द्रकुवेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिपशम्सेर जबरा तथा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारी लगायतमाथि कारबाही गर्न सिफारिस गरेको हो।
घटनाको समयमा राजनीतिक नेतृत्वमा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको भूमिकाबारे आयोगले विश्लेषण गरेको भए पनि उनीहरूमाथि के–कस्तो कारबाही सिफारिस गरिएको छ भन्ने विषय भने स्पष्ट खुलाइएको छैन।
आयोगको सिफारिस कार्यान्वयन भएमा प्रतिवेदनलाई नै जाहेरीका रूपमा मानेर प्रहरीले व्यक्ति हत्याको आरोपमा सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाउनेछ। त्यसक्रममा संलग्न भनिएका व्यक्तिहरू पक्राउ पर्न सक्ने र प्रमाणका आधारमा मुद्दा दर्ता हुन सक्ने स्रोतको भनाइ छ।
यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले आयोगको प्रतिवेदन बुझ्दै अध्ययनपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिएकी छन्।
