काठमाडौं। बैंकिङ क्षेत्रको सम्पत्तिमा क्रमशः सुधारको संकेत देखिन थालेको छ। बैंकहरूले सार्वजनिक गरेका आर्थिक वर्ष २०८/र८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा १० वटा वाणिज्य बैंकको निष्क्रिय कर्जा (एनपीएल) घटेको देखिएको हो।

यसअघि लामो समयसम्म अधिकांश बैंकहरूको निष्क्रिय कर्जा निरन्तर बढ्दै आएको अवस्थामा पछिल्लो तथ्यांकले बैंकिङ क्षेत्र कर्जा सुधारको दिशातर्फ उन्मुख भएको संकेत दिएको विश्लेषकहरूको भनाइ छ। यद्यपि, केही बैंकको निष्क्रिय कर्जा उल्लेख्य रूपमा बढेकाले समग्र बैंकिङ प्रणालीको औसत निष्क्रिय कर्जा दर भने बढेको देखिन्छ। विवरणअनुसार असोज मसान्तमा औसत ४.६६ प्रतिशत रहेको निष्क्रिय कर्जा दर दोस्रो त्रैमासको अन्त्यसम्म आइपुग्दा ४.८५ प्रतिशत पुगेको छ। यो औसत साधारण औसत (भारित औसत होइन) रहेको पनि स्पष्ट गरिएको छ।
यस, अवधिमा २० वाणिज्य बैंकमध्ये १० वटा बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा माथि रहेको छ भने बाँकी १० वटा बैंकको ५ प्रतिशतभन्दा कम रहेको देखिन्छ। यसले बैंकहरूबीच कर्जा व्यवस्थापनमा असमान अवस्था रहेको संकेत गर्छ।
निष्क्रिय कर्जा घटाउन सफल बैंकहरू
पहिलो त्रैमासको तुलनामा निष्क्रिय कर्जा घटाउन सफल हुने बैंकहरूको सूचीमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, कुमारी बैंक, नेपाल बैंक, कृषि विकास बैंक, सानिमा बैंक र नेपाल एसबिआई बैंक रहेका छन्।
नबिल बैंकले असोज मसान्तमा ४.३१ प्रतिशत रहेको निष्क्रिय कर्जा दोस्रो त्रैमासमा घटाएर ४.२५ प्रतिशतमा झारेको छ। ग्लोबल आईएमई बैंकको निष्क्रिय कर्जा ४.९८ प्रतिशतबाट ४.९१ प्रतिशतमा घटेको छ भने एभरेष्ट बैंकले ०.७४ प्रतिशतबाट ०.६८ प्रतिशतमा झारेको छ।
त्यस्तै, एनएमबि बैंकले ४.५८ प्रतिशतबाट ४.५६ प्रतिशत, कुमारी बैंकले ६.९८ प्रतिशतबाट ६.९२ प्रतिशतमा निष्क्रिय कर्जा घटाएका छन्। नेपाल बैंकको निष्क्रिय कर्जा ५.४९ प्रतिशतबाट ५.३४ प्रतिशतमा झरेको छ भने कृषि विकास बैंकले ४.७८ प्रतिशतबाट ४.६५ प्रतिशतमा झारेको छ। सानिमा बैंकले निष्क्रिय कर्जा ३.९१ प्रतिशतबाट ३.६३ प्रतिशतमा ल्याएको छ भने नेपाल एसबिआई बैंकले ३.०१ प्रतिशतबाट २.६४ प्रतिशतमा झार्न सफल भएको छ।
निष्क्रिय कर्जा बढेका बैंकहरू
तर बाँकी १० वटा वाणिज्य बैंकको निष्क्रिय कर्जा भने अझै बढ्दो क्रममा देखिएको छ। एनआईसी एशिया बैंकको निष्क्रिय कर्जा ६.९९ प्रतिशतबाट बढेर ७.४४ प्रतिशत पुगेको छ। हिमालयन बैंकको ७.३९ प्रतिशतबाट ७.९६ प्रतिशत पुगेको छ भने प्रभु बैंकको निष्क्रिय कर्जा ५.७८ प्रतिशतबाट उल्लेख्य रूपमा बढ्दै ७.९४ प्रतिशत पुगेको छ।
नेपाल इन्भेष्टमेन्ट बैंकको निष्क्रिय कर्जा पनि ६.६३ प्रतिशतबाट बढेर ७.९० प्रतिशत पुगेको छ। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ३.८३ प्रतिशतबाट ४.३६ प्रतिशतमा पुगेको छ।
प्राइम कमर्सियल बैंकको ५.८६ प्रतिशतबाट ६.३८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.४२ प्रतिशतबाट ५.५० प्रतिशत, माछापुच्छ्रे बैंकको ४.१३ प्रतिशतबाट ४.२५ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.७१ प्रतिशतबाट १.८८ प्रतिशत निष्क्रिय कर्जा पुगेको सम्बन्धित बैंकहरूले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
विश्लेषकको दृष्टिकोण
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार कर्जा असुलीमा सुधार, आर्थिक गतिविधिमा क्रमिक चलायमानता र पुनःसंरचना गरिएको कर्जाको प्रभाव देखिन थालेको हो। तर अझै पनि उच्च निष्क्रिय कर्जा भएका बैंकहरूका लागि जोखिम कायमै रहेको र कर्जा विस्तारमा सावधानी आवश्यक रहेको उनीहरूको सुझाव छ।
समग्रमा केही बैंकमा देखिएको सुधारले बैंकिङ क्षेत्र विस्तारै स्थिरतातर्फ फर्किंदै गएको संकेत गरे पनि सबै बैंकमा समान रूपमा सुधार आउन समय लाग्ने विश्लेषकहरूको ठहर छ।
