काठमाडौँ। बुध्द एयरले विश्वमै पहिलो पटक एटीआर–७२ जहाजलाई पूर्ण क्षमतामा सञ्चालन गरेर औपचारिक रूपमा विदाइ गरेको छ। कल साइन ९एन–एजेओ रहेको यो जहाजले १६ वर्षे व्यावसायिक सेवामा २४ लाख ८२ हजार ७ सय बहत्तर यात्रुहरूलाई सुरक्षित रुपमा बोकेको थियो र नेपालको आन्तरिक हवाई यातायातमा उल्लेखनीय योगदान पुर्याएको छ।

एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२,००० साईकल हो, जहाँ ‘साईकल’ भन्नाले एक उडान र एक अवतरणलाई जनाउँछ। यो जहाज २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न थियो र यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट काठमाडौँसम्म सम्पन्न भएको थियो।
विदाइ समारोहमा भावुक हुँदै बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले जहाजको योगदानको चर्चा गर्दै भने, “यस जहाजले नेपालको हवाई यातायातलाई सुगम, कम खर्चिलो र वातावरणमैत्री बनाउने ठूलो योगदान दियो। यसले बुध्द एयरको बजार विस्तार र शाखा वृद्धि दुवैमा महत्वपूर्ण भूमिका खेलेको छ। हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौं।”
नेपाल नागरिक उड्डयन प्राधिकरणका जेनरल म्यानेजर टेकनाथ सिटौलाले बुध्द एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनको प्रशंसा गर्दै भने, “यस कारण आज एटीआर जहाजलाई सफलतापूर्वक विदाइ गर्न सम्भव भएको हो।”
एटीआर कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट स्टेफानो माराज्जनीले बुध्द एयरसँगको साझेदारीप्रति खुशी व्यक्त गर्दै भने, “एटीआर कम्पनीले डिजाइन र निर्माण गरेको यो विमान योग्य हातहरू, सही वातावरण र उत्कृष्ट प्राविधिक प्रणालीको साथ अन्तिम उडानसम्म सुरक्षित रुपमा सेवा दिन सक्षम भयो। यसले बुध्द एयरको उच्च सुरक्षा प्रतिबद्धता पुनः प्रमाणित गरेको छ।”
यसअघि बुध्द एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा विदाइ गरेको थियो। वर्तमानमा, बुध्द एयरले आन्तरिक उडानहरू नेपालका विभिन्न शहरहरू – पोखरा, नेपालगञ्ज, भैरहवा र भरतपुर – भरिरहेको छ। अन्तर्राष्ट्रिय उडानहरूमा भारतको वाराणसी र कोलकातासम्म सेवाहरू सञ्चालन भइरहेको छ।
विशेषज्ञहरूले एटीआर जहाजको विदाइलाई नेपालको हवाई यातायातको इतिहासमा एउटा महत्वपूर्ण माइलस्टोनको रूपमा मूल्याङ्कन गरेका छन्। यसले देशको आन्तरिक उडान संरचना र यात्रु सुरक्षामा विश्वासको स्तर बढाएको बताइएको छ।