Health & Wellness

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा बिरामीमैत्री व्यवहारका लागि उच्चस्तरीय समिति गठन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा बिरामीमैत्री व्यवहारका लागि उच्चस्तरीय समिति गठन

धरान । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचारका लागि आउने बिरामी तथा उनीहरूका आफन्तसँग गरिने व्यवहारलाई थप मर्यादित र संवेदनशील बनाउन उच्चस्तरीय समिति गठन गरिएको छ।

ADVERTISEMENT

प्रतिष्ठानका उपकुलपति विक्रमप्रसाद श्रेष्ठ ले चिकित्सक, नर्स, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूलाई बिरामीमैत्री व्यवहारतर्फ उत्प्रेरित गर्ने उद्देश्यले ‘बिरामी प्रति पेशागत व्यवहार उत्प्रेरणा समिति’ गठन गरेका हुन्। प्रतिष्ठानका प्रवक्ता शमशेर श्रेष्ठ द्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य सेवा लिन आउने बिरामी र उनका कुरुवारआफन्तसँग गरिने व्यवहारलाई अझ प्रभावकारी, मर्यादित र सेवामैत्री बनाउने विशेष पहलस्वरूप समिति गठन गरिएको हो।

मनोचिकित्सा विभागका प्राडा। वैकुण्ठराज अधिकारी को संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ। समितिमा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका एडिसनल प्रोफेसर डा. विजय खनाल, अर्थोडोन्टिक्स विभागका एसोसिएट प्रोफेसर डा. जमल गिरी, मनोचिकित्सा विभागका एसिस्टेन्ट प्रोफेसर डा. सुरेन लिम्बू, बायोकेमिस्ट्री विभागका एसिस्टेन्ट प्रोफेसर डा. वसन्त गेलाल तथा अस्पताल प्रशासनकी डा. श्वेता झा सदस्य रहेका छन्। प्रतिष्ठानमा दैनिक हजारौँ बिरामी उपचारका लागि आउने भएकाले उनीहरूसँग गरिने कुराकानी र परामर्शलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित समिति सक्रिय भएको जनाइएको छ। समितिले चिकित्सक, नर्स, पारामेडिक्स, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूलाई लक्षित गरी उत्प्रेरणामूलक तालिम सञ्चालन सुरु गरिसकेको छ।

हालसम्म ७८ जना हेल्थ एड तहका कर्मचारीले तालिम प्राप्त गरिसकेको प्रतिष्ठानले जनाएको छ। आगामी दिनमा हेल्पर, प्रत्यक्ष रूपमा बिरामीसँग सम्पर्कमा आउने प्रशासनिक कर्मचारी, पारामेडिक्स, प्राविधिक कर्मचारी, नर्सिङ स्टाफ तथा चिकित्सकहरूलाई समेत तालिम प्रदान गरिनेछ। तालिमका क्रममा बिरामीसँग बोल्दा प्रयोग गरिने भाषा र हाउभाउलाई नरम, सकारात्मक र व्यावसायिक कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइनेछ। साथै उपचार प्रक्रिया तथा परामर्श दिँदा बिरामीले सजिलै बुझ्ने गरी स्पष्ट संवाद गर्ने सीप विकासमा जोड दिइनेछ।

बिरामीको पीडा र मनोभाव बुझेर उनीहरूलाई मानसिक रूपमा सकारात्मक ऊर्जा प्रदान गर्ने तरिका, मनोवैज्ञानिक सहयोग र प्रभावकारी सम्भाषणसम्बन्धी विषयमा समेत प्रस्तुतीकरण र अन्तरक्रियामार्फत प्रशिक्षण सञ्चालन भइरहेको विज्ञप्तिमा उल्लेख छ।