Health & Wellness

बजारमा छ्यापछ्याप्ती ‘ट्रान्सफ्याट’ : मुटु र मस्तिष्कमा बढ्दो खतरा

बजारमा छ्यापछ्याप्ती ‘ट्रान्सफ्याट’ : मुटु र मस्तिष्कमा बढ्दो खतरा

काठमाडौं । बजारमा सजिलै पाइने बेकरी उत्पादन, चाउचाउ, पफ, भुजिया, फ्रेन्चफ्राइज र डिप–फ्राई गरिएका परिकारमा प्रयोग हुने ‘ट्रान्सफ्याट’ ले युवावस्थामै मुटु र स्नायु प्रणालीमा गम्भीर असर पारिरहेको चिकित्सकहरूले चेतावनी दिएका छन्।

ADVERTISEMENT

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार बिरामीले सबैभन्दा नराम्रो चिल्लोका रूपमा रेड मिट, घ्यू वा बटरलाई दोष दिने गरे पनि वास्तविक जोखिम औद्योगिक ट्रान्सफ्याटयुक्त खानेकुराबाट हुन्छ। “लामो समय ट्रान्सफ्याट मिसिएका परिकार खाँदा मुटु, रक्तनली, मिर्गौला र मस्तिष्कमा गम्भीर असर पर्छ,” उनले भने।

के हो ट्रान्सफ्याट?

ट्रान्सफ्याट प्राकृतिक र औद्योगिक गरी दुई स्रोतबाट पाइन्छ। प्राकृतिक रूपमा केही मात्रामा जनावरजन्य बोसोमा पाइने ट्रान्सफ्याट सीमित सेवनमा खासै हानिकारक नहुने चिकित्सकहरूको भनाइ छ। तर उद्योगमा वनस्पति तेललाई ‘हाइड्रोजेनेसन’ प्रक्रियामार्फत ठोस वनस्पति घ्यूमा परिणत गर्दा बन्ने ट्रान्सफ्याट अत्यन्तै हानिकारक मानिन्छ। यस्तो वनस्पति घ्यू बिस्कुट, कुकिज, पफ, तयारी चाउचाउ, आलु चिप्स, मिठाई र अन्य प्रशोधित खाद्य पदार्थमा प्रयोग गरिन्छ। तेललाई पटक–पटक तताउँदा पनि ट्रान्सफ्याटको मात्रा बढ्ने विज्ञहरू बताउँछन्।

युवा उमेरमै हृदयघात

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार पछिल्ला वर्षमा ३०–४० वर्षकै उमेरमा हृदयघात बढेको छ। “खानपानसँग यसको प्रत्यक्ष सम्बन्ध छ, ट्रान्सफ्याट त्यसको महत्वपूर्ण कारण हो,” उनले भने। ट्रान्सफ्याटले रगतमा खराब कोलेस्ट्रोल (एलडीएल) बढाउने र असल कोलेस्ट्रोल (एचडीएल) घटाउने काम गर्छ। यसले धमनी साँघुरो बनाउने, सुन्निने अवस्था (इन्फ्लामेसन) गराउने र अन्ततः हृदयघात वा मस्तिष्कघात निम्त्याउने जोखिम बढाउँछ।

यसैगरी, इन्सुलिन प्रतिरोध बढाएर टाइप–२ मधुमेहको सम्भावना पनि बढाउने चिकित्सकहरूको भनाइ छ।

मस्तिष्कमा पनि असर

न्युरो विशेषज्ञ डा. सुशील मोहन भट्टराईका अनुसार ट्रान्सफ्याटले कोषिकाको झिल्ली (सेल मेम्ब्रेन) मा असर पुर्‍याएर स्नायु सञ्चार प्रणाली अवरुद्ध गर्न सक्छ। “पहिला ७० वर्षपछि देखिने स्ट्रोक अहिले ३० वर्षमै देखिन थालेको छ,” उनले भने। उनका अनुसार ट्रान्सफ्याटले मस्तिष्कमा ‘सेरोटोनिन’ जस्ता रसायनको मात्रा घटाएर उदासी, एकाग्रतामा कमी र स्मरणशक्ति कमजोर बनाउने जोखिम बढाउँछ। वरिष्ठ न्यूरोसर्जन डा. राजीव झाले मोटोपना, उच्च रक्तचाप र अस्वस्थ जीवनशैलीका कारण युवामा स्ट्रोक बढिरहेको बताए।

बजार अनुगमनमा भेटियो उच्च मात्रा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले गत मंसिरमा गरेको अनुगमनमा केही बेकरी र पफ उत्पादनमा तोकिएको मापदण्डभन्दा बढी ट्रान्सफ्याट भेटिएको थियो। विभागका अनुसार परीक्षण गरिएका ६७ वस्तुमध्ये १६ प्रतिशतमा २ प्रतिशतभन्दा बढी ट्रान्सफ्याट पाइएको थियो। केही नमूनामा १५ प्रतिशतसम्म ट्रान्सफ्याट भेटिएको दाबी गरिएको छ। सरकारले खाद्य पदार्थमा कुल चिल्लो पदार्थको तौलको २ प्रतिशतभन्दा कम ट्रान्सफ्याट हुनुपर्ने मापदण्ड लागू गरेको छ। तर प्रभावकारी अनुगमन र कार्यान्वयनमा चुनौती देखिएको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ।

नसर्ने रोगको बढ्दो भार

नेपालमा कुल मृत्युको झन्डै ७१ प्रतिशत नसर्ने रोगबाट हुने तथ्यांक छ। मुटुरोग र स्ट्रोक प्रमुख कारणमध्ये पर्छन्। जनस्वास्थ्यविद् डा. रिता थापाका अनुसार अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, धूम्रपान र मदिरा सेवनले जोखिम झन् बढाएको छ।

के गर्ने?

. स्वास्थ्य विज्ञहरूले ट्रान्सफ्याट नियन्त्रणका लागि:

. खाद्य पदार्थमा ट्रान्सफ्याट मात्रा अनिवार्य रूपमा लेबलमा उल्लेख गर्न,

. विद्यालय र समुदायमा सचेतना अभियान सञ्चालन गर्न,

. होटल तथा रेस्टुराँमा तेल पुनः प्रयोगमा कडाइ गर्न,

. आयातमै कच्चा पदार्थको परीक्षण अनिवार्य गर्न सुझाव दिएका छन्।

स्वास्थ्य मन्त्रालयले नसर्ने रोग नियन्त्रणका लागि नयाँ बहुक्षेत्रीय कार्ययोजना (२०२६–२०३०) ल्याउने तयारी गरिरहेको जनाएको छ। विशेषज्ञहरूको निष्कर्ष स्पष्ट छ—सजिलो, स्वादिलो र सस्तो विकल्प रोज्दा दीर्घकालीन रूपमा मुटु र मस्तिष्कले ठूलो मूल्य चुकाइरहेका छन्। ट्रान्सफ्याट नियन्त्रणमा राज्य, उद्योग र उपभोक्ता सबैको सचेत कदम अपरिहार्य देखिन्छ।