बंगलादेश । बंगलादेश क्रिकेट बोर्ड (BCB)ले पूर्व फास्ट बलर मन्जुरुल इस्लामलाई बोर्ड अन्तर्गतका सबै किसिमका क्रिकेट गतिविधि र रोजगारीमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ।बोर्डले गठन गरेको स्वतन्त्र छानबिन समितिले उनलाई दुर्व्यवहार र हैरानी गरेको दोषी ठहर गरेपछि यो निर्णय आएको हो।

सन् २०२२ को महिला एकदिवसीय विश्वकपको समयमा मन्जुरुल इस्लाम बंगलादेश महिला टोलीको मुख्य छनोटकर्ता र व्यवस्थापक थिए। त्यसै क्रममा टोलीकी पूर्व कप्तान जहानारा आलमले बोर्डमा उजुरी दिएकी थिइन् कि मन्जुरुलले आफूलाई अश्लील प्रश्न सोधेर दुर्व्यवहार गरेका थिए। जहानाराले बोर्डका अन्य केही अधिकारीहरूलाई पनि अनुचित व्यवहारको आरोप लगाएकी थिइन्।
यस विषयमा सत्यतथ्य बुझ्न पूर्व न्यायाधीश तारिक उल हकिमको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। समितिले जहानाराका चारवटा मुख्य आरोपको अनुसन्धान गर्यो। चारमध्ये दुई आरोपमा प्रमाण फेला परेन।
बाँकी दुई आरोपमा भने मन्जुरुलले पदीय मर्यादा विपरित कार्य गरेको र महिला खेलाडीलाई दुर्व्यवहार गरेको पर्याप्त प्रमाण भेटियो। समितिको प्रतिवेदनको आधारमा आइतबार बसेको बोर्ड बैठकले मन्जुरुललाई बोर्डसँग सम्बन्धित कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी र क्रिकेट गतिविधिमा सहभागी हुन नदिने निर्णय गरेको छ।
हाल मन्जुरुल इस्लाम चीन महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकको रूपमा कार्यरत छन्। बंगलादेश क्रिकेट बोर्डले यस घटनालाई गम्भीरताका साथ लिएर समितिको सिफारिस अनुसार थप कदम चाल्न सक्ने बताएको छ। यसअघि कप्तान निगार सुल्तानाले साथी खेलाडीलाई कुटपिट गरेको भन्ने जहानाराको आरोपलाई भने बोर्डले अस्वीकार गरेको थियो। यस निर्णयले बंगलादेश क्रिकेटमा महिला खेलाडीको सुरक्षा र पदीय मर्यादाको संरक्षणमा बोर्डको गम्भीरता देखाएको छ।