काठमाडौं । नेपाल मेडिकल काउन्सिल ले फेलोसिप कार्यक्रम सञ्चालन गरिरहेका विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालहरूमा कार्यरत चिकित्सकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ।

काउन्सिलले पूर्णकालीन रूपमा फेलोसिप कार्यक्रममा संलग्न चिकित्सकलाई कम्तीमा सरकारको ९औँ तह बराबरको पारिश्रमिक अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो। चिकित्सकहरूको मनोबल उच्च राख्न तथा उनीहरूको सेवाको उचित मूल्यांकन सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको काउन्सिलले जनाएको छ।
काउन्सिलका रजिस्ट्रार डा. सतीश कुमार देवका अनुसार २३ र २४ पुसमा बसेको पूर्णबैठकले उक्त निर्णय गरेको हो। सरकारको नीति तथा चिकित्सा शिक्षा सम्बन्धी विद्यमान व्यवस्थाअनुसार पारिश्रमिक निर्धारण गरिएको उनले जानकारी दिए।
स्वीकृति प्राप्त गरी फेलोसिप कार्यक्रम सञ्चालन गरिरहेका सबै सम्बन्धित संस्थालाई निर्णय कार्यान्वयनका लागि काउन्सिलले निर्देशन जारी गरेको छ।
पृष्ठभूमि
गत पुसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रममा चर्को शुल्क लिएको र निर्वाह भत्ता सुनिश्चित नभएको भन्दै चिकित्सकहरूले विरोध जनाएका थिए। विरोधका कारण फेलोसिप भर्ना प्रक्रिया समेत प्रभावित भएको थियो। काउन्सिलको पछिल्लो निर्णयले फेलोसिपमा कार्यरत चिकित्सकको पारिश्रमिक र कार्यपरिस्थितिबारे उठ्दै आएको बहसलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।