Politics

फागुन २१ को निर्वाचनका लागि कांग्रेस घोषणापत्र तयारीमा, ‘भिजन–१०’ मुख्य थिम

फागुन २१ को निर्वाचनका लागि कांग्रेस घोषणापत्र तयारीमा, ‘भिजन–१०’ मुख्य थिम

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको नेतृत्वमा घोषणापत्र तयारीलाई तीव्रता दिएको छ। सभापति थापा आफू उम्मेदवार बनेको सर्लाही–४ मा व्यस्त रहेकाले हाल घोषणापत्र लेखनको संयोजन उनका विश्वासपात्र प्रताप पौडेलले गरिरहेका छन्। पौडेलका अनुसार घोषणापत्रमा समेट्नका लागि १० वटा प्रमुख विषय छनोट गरिएको छ, जसलाई ‘भिजन–१०’ को नाम दिइएको छ। भिजन–१० को थिममा घोषणापत्र लेखिरहेका छौँ। सुशासन र समुन्नतिमा आधारित रहेर प्राथमिकताका १० विषय समेटिनेछन्,’ पौडेलले बताए।

ADVERTISEMENT

सभापति थापाले गोदावरीमा सम्पन्न महासमिति बैठक र गत पुसमा भएको विशेष महाधिवेशनमा उठाएको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नारालाई घोषणापत्रको आधार बनाइएको पौडेलको भनाइ छ। साथै, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट उठेको सुशासनको मुद्दालाई घोषणापत्रको मूलमन्त्र बनाउने तयारी गरिएको छ। जेनजी आन्दोलनको जगमै फागुन २१ को निर्वाचन हुँदैछ। कांग्रेसले घोषणापत्रमार्फत त्यो आन्दोलनपछिका उपलब्धिलाई संस्थागत गर्ने आधार प्रस्तुत गर्नेछ,’ पौडेलले भने, ‘जेनजीले खोजेको सुशासन र समुन्नतिलाई नै घोषणापत्रको केन्द्रीय थिम बनाएका छौँ।’ कांग्रेसले पार्टीको आधिकारिक फेसबुक पेजमार्फत ‘सुशासन र समुन्नतिका लागि भिजन–१०’ तथा ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहितको ग्राफिक्स सार्वजनिक गरिसकेको छ। उक्त ग्राफिक्स घोषणापत्रकै सन्देशका लागि तयार गरिएको पौडेलले स्पष्ट पारे। यद्यपि, भिजन–१० भित्र समेटिने सबै विषय घोषणापत्र सार्वजनिक भएपछि मात्रै खुल्ने उनले बताए।

घोषणापत्र लेखन टिमले पार्टीका विभिन्न तह र तप्काबाट सुझाव संकलन गरिरहेको छ। सभापति थापा शुक्रबार सर्लाहीबाट काठमाडौं फर्किएपछि घोषणापत्र लेखनको औपचारिक टिम घोषणा गर्ने र सार्वजनिक मिति तय गर्ने तयारी छ। त्यसअघि उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलसँग छलफल गरिने बताइएको छ। कांग्रेसले जेनजी आन्दोलनपछि पुस २७ देखि ३० सम्म विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरेको विषयलाई पनि घोषणापत्रमा समेट्ने तयारी गरेको छ। साथै, निर्वाचनपछि बन्ने प्रधानमन्त्रीको नाम पहिल्यै घोषणा गर्ने निर्णयलाई पनि मतदातामैत्री कदमका रूपमा घोषणापत्रमा उल्लेख गरिनेछ। माघ ९ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो, जुन कांग्रेस इतिहासमै पहिलो पटक हो।

यस निर्वाचनमा कांग्रेसले गठबन्धन संस्कृतिलाई तोड्दै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। तीमध्ये १०६ जना नयाँ उम्मेदवार छन्। सधैँ उही अनुहार दोहोरिने प्रवृत्तिको आलोचना गर्दै आएको जेनजी आन्दोलनको सन्देशलाई आत्मसात गर्दै नयाँलाई अवसर दिइएको विषय पनि घोषणापत्रमा समेटिनेछ। कांग्रेस नेता डा.शेखर कोइरालाले सबै क्षेत्रमा उम्मेदवार उठाउँदा समानुपातिक मत बढ्ने विश्वास व्यक्त गरेका छन्।
‘१६५ वटै क्षेत्रमा उम्मेदवार हुनु सकारात्मक संकेत हो। यसले समानुपातिक मत बढाउन सहयोग गर्छ,’ उनले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ दलहरूभन्दा पनि आफूहरू अझ नवीन रूपमा अघि बढ्ने सन्देश घोषणापत्रमा देखिने कांग्रेस नेताहरूको भनाइ छ। रास्वपाले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेपछि त्यसको रणनीतिक काउन्टरका रूपमा कांग्रेसले सभापति थापालाई नै भावी प्रधानमन्त्री घोषणा गरेको एक पदाधिकारीले बताए। घोषणापत्रमा महत्त्वाकाङ्क्षी भन्दा पनि कार्यान्वयनयोग्य विषय समेटिने पौडेलको भनाइ छ।

त्यसैगरी, ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने निर्वाचन लक्षित नीति पनि घोषणापत्रमा समेटिनेछ। उपसभापति विश्वप्रकाश शर्माले माघ २१ फागुन २१ सम्म पार्टीका सबै जिम्मेवार नेता–कार्यकर्ता आ–आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भन्दै परिपत्र जारी गरिसकेका छन्। शर्माको नेतृत्वमा तयार हुँदै गरेको ‘निर्वाचन परिचालन निर्देशिका’मा समेत यही नीति समावेश हुने बताइएको छ।