दार्जिलिङ । नेपाली फिल्म तथा संगीत क्षेत्रका लोकप्रिय सर्जक प्रशान्त तामाङ को सम्मानमा दार्जिलिङको प्रमुख पर्यटकीय स्थल चौरास्ता मा पूर्ण कदको शालिक स्थापना गरिने भएको छ।

उनको निधनको ५० दिन पूरा भएको सन्दर्भमा आइतबार सिलिगुडीमा आयोजित भेटघाट कार्यक्रममा गोर्खाल्याण्ड प्रादेशिक प्रशासन (जीटीए) प्रमुख अनित थापा ले तामाङ परिवारलाई उक्त आश्वासन दिएका हुन्।
भेटमा प्रशान्तकी श्रीमती मार्था आले, छोरी र दिदी अनुपमा उपस्थित थिए। सो अवसरमा थापाले दार्जिलिङका गौरवका रूपमा चिनिएका तामाङको सम्झनालाई सदैव जीवित राख्न चौरास्तामा शालिक स्थापना गरिने बताए।
प्रशान्तले दार्जिलिङको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलेको भूमिकालाई स्मरण गर्दै यो निर्णय ऐतिहासिक र भावनात्मक दुवै दृष्टिले महत्वपूर्ण रहेको थापाको भनाइ थियो।
शालिकको डिजाइन चर्चित मूर्तिकार अमिर सुन्दास ले गर्ने जनाइएको छ। कलात्मक उत्कृष्टताका लागि परिचित सुन्दासले प्रशान्तको व्यक्तित्व, सरलता र संगीतप्रतिको समर्पण झल्किने गरी मूर्ति निर्माण गर्ने तयारी रहेको बताइएको छ। दार्जिलिङको मुटु मानिने चौरास्तामा तामाङको शालिक स्थापना हुनु केवल स्मारक निर्माण मात्र होइन, सम्पूर्ण गोर्खा समुदाय र संगीतप्रेमीका लागि गर्वको क्षण हुनेछ,’ थापाले भने, ‘यसले भावी पुस्तालाई समेत प्रेरणा दिने विश्वास लिइएको छ।’
प्रशान्त तामाङले आफ्नो मधुर स्वर र सरल व्यक्तित्वमार्फत लाखौं श्रोताको मन जितेका थिए।