काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये १ हजार ६७० जनाले मात्र बैंक खाता खोलेका छन्। निर्वाचन आयोगका अनुसार निर्वाचनमा सहभागी ६५ राजनीतिक दलमध्ये ११ दलले मात्रै प्रचारप्रसारका लागि छुट्टै बैंक खाता सञ्चालन गरेका छन्।

खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेकपा, नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन्। आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले उक्त जानकारी दिएकी हुन्। निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहयोगको पारदर्शिता कायम गर्न तथा कानुनले तोकेको खर्च सीमाको पालना सुनिश्चित गर्न बैंक खाता खोल्ने व्यवस्था गरेको हो।
‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०८२’ अनुसार समानुपातिक र प्रत्यक्ष ९पहिलो हुने निर्वाचित हुने० प्रणालीअन्तर्गत उम्मेदवारी दिएका सबै दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने प्रावधान छ। सोही खातामार्फत आर्थिक सहयोग लिने र निर्वाचनसम्बन्धी सम्पूर्ण आम्दानी–खर्चको कारोबार गर्न आयोगले निर्देशन दिएको छ।