काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि सशस्त्र प्रहरी बल दोस्रो घेरामा परिचालन हुने भएको छ। केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना अनुसार देशभर ३१ हजार सशस्त्र प्रहरी निर्वाचन सुरक्षामा खटाइने छ। निर्वाचन त्रुटिरहित, निष्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरीले प्रत्येक निर्वाचन क्षेत्रमा सुरक्षा बेस स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। एकीकृत सुरक्षा योजना अनुसार १६५ निर्वाचन क्षेत्रमा ‘निर्वाचन क्षेत्र सुरक्षा बेस’ स्थापना गरिने छ। योजना अनुसार निर्वाचन हुनुभन्दा एक महिना अगावै यी बेसहरू स्थापना गरिने उल्लेख छ। सुरक्षा योजनाअनुसार हिमाली क्षेत्रमा १७ स्थान, पहाडी क्षेत्रमा ७० स्थान र तराईका जिल्लामा ७८ स्थानमा सुरक्षा बेस स्थापना हुँदै छन्। सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतका अनुसार माघ २१ गतेदेखि ती सुरक्षा बेस सञ्चालनमा ल्याइने छ।

तराईमा स्ट्राइकिङ फौज, पहाड–हिमालमा मोबाइल टोली
एकीकृत सुरक्षा योजनामा तराईका जिल्लामा सशस्त्र प्रहरीको स्ट्राइकिङ फौज परिचालन गरिने उल्लेख छ। तराईमा प्रत्येक निर्वाचन क्षेत्रमा ४ वटा स्ट्राइकिङ फौज खटाइने छ भने पहाडी क्षेत्रमा ३ वटा र हिमाली क्षेत्रमा १ वटा स्ट्राइकिङ फौज परिचालन गरिने छ। स्ट्राइकिङ तथा मोबाइल टोली निर्वाचनको १५ दिनअघि देखि सवारी साधनसहित परिचालन गरिने छ। यस्ता टोलीहरूलाई कुनै पनि सुरक्षा चुनौती आएमा तत्काल परिचालन गर्न सक्नेगरी तयारी अवस्थामा राखिने सुरक्षा योजनामा उल्लेख छ।
सशस्त्रलाई विशेष अनुशिक्षण, केन्द्रीय निर्वाचन सेल गठन
निर्वाचन सुरक्षामा खटिने सशस्त्र प्रहरीका सकलदर्जालाई विशेष अनुशिक्षण तालिम दिने गरी सुरक्षा योजना लागु गरिएको छ। निर्वाचनमा खटाउनुअघि अनुशिक्षण तालिमसम्बन्धी पाठ्यक्रम तयार गरी तालिम प्रदान गरिने जनाइएको छ। सुरक्षा योजनाअनुसार सशस्त्र प्रहरी बलले एसएसपीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ। उक्त सेलको कमाण्ड कार्य विभागका एसएसपी राजेश उप्रेतीले गर्नेछन्। साथै सातवटै प्रदेशका बाहिनी, गण र गुल्म तहमा समेत निर्वाचन सेल गठन गरिने छ।
हेली लिफ्टसहित आकस्मिक तयारी
जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयको सुरक्षाका लागि सशस्त्र प्रहरीले बन्दोबस्तीका सामानसहित मोबाइल, स्ट्राइकिङ र रिजर्भ फौज परिचालन गर्नेछ। निर्वाचन हुने दिन आकस्मिक अवस्थालाई मध्यनजर गर्दै हलचोकस्थित नम्बर–१९ विशेष कार्यदल गण र सिनामंगलस्थित नम्बर–२० विपद् उद्धार गणका फौजलाई स्ट्याण्डबाई राख्ने निर्णय गरिएको छ। आवश्यक परे दुईवटै गणका फौजलाई तत्काल हेली लिफ्टमार्फत परिचालन गर्न सकिने व्यवस्था गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।