Politics

प्रचण्डको एकता प्रस्तावमा विप्लवको कडा जवाफ

प्रचण्डको एकता प्रस्तावमा विप्लवको कडा जवाफ

काठमाडौं। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकता प्रस्तावप्रति कडा प्रतिक्रिया दिएका छन्।

ADVERTISEMENT

हिजो प्रचण्डले माओवादीका नेता–कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै विप्लवलाई समेत नेकपा एकताबद्ध हुन अपिल गरेका थिए। त्यसको जवाफमा विप्लवले चुनावी मोर्चामै सहकार्य गर्न तयार नहुने पार्टीबाट एकताको चर्चा आउनु कम्युनिस्ट आन्दोलनमा पुरानो, असफल र काम नलाग्ने जालझेल मात्र भएको टिप्पणी गरेका छन्। उनले यस्तो भ्रममा विचार मरेका, आश गुमाएका र आफ्नै इतिहासले थिचिएका व्यक्ति मात्र पर्न सक्ने दाबी गरे।

विप्लवले विभिन्न मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यतर्फ अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र सम्भावनाको केन्द्र भएको उल्लेख गर्दै आउँदो समयले यसलाई प्रमाणित गर्ने जिकिर गरे।

उनले आफ्नो पार्टी सबै कम्युनिस्ट शक्तिहरूबीच मोर्चा र सहकार्यको पक्षमा रहेको स्पष्ट पार्दै सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्ने दलसँग एकता गर्न तयार रहेको बताए। साथै, मालेमावादी पार्टीको सुदृढीकरण नै आफ्नो प्राथमिकता भएको पनि उनले दोहोर्‍याए।