पोखरा । पर्यटनको राजधानी पोखरामा पछिल्ला १९ दिनदेखि सडकमा फोहर थुप्रिँदा सहर दुर्गन्धित बनेको छ। यसअघि फोहर फाल्दै आएको पोखरा–३२, लामेआहालस्थित सेती नदी किनारको भंगालो भरिएपछि महानगरपालिकाले नियमित फोहर संकलन गर्न नसकेको हो। महानगरपालिकाले केही दिनअघि सूचना जारी गर्दै घरबाट बाहिर फोहर ननिकाल्न आग्रह गरे पनि लामो समयसम्म फोहर घरमै राख्न नसक्दा नागरिकहरू सडकमा फोहर फाल्न बाध्य भएका छन्। यसका कारण सहरका मुख्य चोकहरूमा फोहरको डंगुर देखिन थालेको छ।

महानगरका सूचना अधिकारी कृष्ण तिवारीका अनुसार फोहर व्यवस्थापनका लागि वैकल्पिक स्थानको अन्तिम टुंगो लाग्न बाँकी छ। पोखरा–३२ मै नयाँ स्थान खोजिएको छ। महानगरको तर्फबाट सम्झौता भइसकेको छ,’ उनले भने, ‘स्थानीय तहमा केही प्रक्रिया बाँकी रहेकाले समाधानपछि केही दिनमै फोहर उठ्न थाल्नेछ।’ तत्कालीन व्यवस्थापनका रूपमा मुख्य चोकबाट संकलन गरिएको करिब ७० ट्रक फोहर पोखराको शान्ति वनबाटिकामा पुरिएको तिवारीले जानकारी दिए। तर उनले यो दीर्घकालीन समाधान नभएको स्पष्ट पारे। यसअघि पनि लामेआहालमा अवरोध आएपछि महानगरले वडैपिच्छे खाल्डाखुल्डी र भंगालोमा फोहर पुरिँदै आएको थियो। पोखरा–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले शुक्रबारसम्म समस्या समाधान हुने दाबी गरे।
‘सरोकारवालासँग छलफल भइरहेको छ। अब धेरै समय लाग्दैन,’ उनले भने, ‘नयाँ स्थानलाई विकल्पका रूपमा महानगरलाई दिने तयारीमा छौँ।’ हाल प्रयोगमा रहेको स्थान नजिकै वन क्षेत्रछेउ नयाँ भंगालोमा फोहर व्यवस्थापन गर्ने तयारी गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनअघि, २०७९ पुसमा पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट अस्थायी रूपमा लामेआहाल सारिएको थियो।
यता, मेयर धनराज आचार्यले पद सम्हालेपछि पोखरालाई अध्ययन केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित फोहर प्रशोधन केन्द्र निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए। तर तीन वर्ष बितिसक्दा पनि प्रशोधन केन्द्र निर्माण सुरु हुन सकेको छैन। महानगरले पोखरा–३३ झाँकीस्थानमा जग्गा रोक्का गरे पनि स्थानीयको अवरोधका कारण काम अघि बढ्न सकेको छैन। मेयर आचार्यले राजनीतिक पूर्वाग्रहका कारण योजना रोकिएको आरोप लगाएका छन्।
‘कार्यपालिकाको सर्वसम्मत निर्णयअनुसार काम अघि बढाइएको हो। मैले एक्लै निर्णय गरेको होइन,’ उनले भने, ‘अहिले मलाई मात्र बदनाम गर्ने प्रयास भइरहेको छ।’
तर स्थानीयवासीहरूले अपारदर्शी प्रक्रिया र कमिसनको लोभमा प्रशोधन केन्द्र निर्माण गर्न खोजिएको आरोप लगाउँदै वडा कार्यालयमा तालाबन्दी र प्रदर्शनसमेत गरेका छन्। फोहर व्यवस्थापनमा देखिएको ढिलाइका कारण अहिले पोखराका हरेक चोकमा फोहर थुप्रिएको छ, जसले सहरको सौन्दर्य, वातावरण र जनस्वास्थ्यमा गम्भीर असर पारेको छ।