चितवन । पीएफसी इमर्जिङ कप २०८२ को उपाधि माडी माध्यमिक विद्यालय ले जितेको छ। फाइनलमा बाल्मीकी शिक्षा सदन लाई ५–१ गोल अन्तरले पराजित गर्दै माडी च्याम्पियन बनेको क्लबका सचिव सुमन पौडेलले जानकारी दिए। माडीको जितमा एबिन बस्याल र करण बोटले दुई–दुई गोल गरे भने प्रतीक क्षेत्रीले एक गोल थपे। बाल्मीकी शिक्षा सदनका लागि आदित्य लामिछानेले एक गोल फर्काए।

विजेता माडी माध्यमिक विद्यालयले १० हजार रुपैयाँ नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्राप्त गर्यो। उपविजेता बाल्मीकी शिक्षा सदनले १० हजार रुपैयाँ नगदसहित १० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री, ट्रफी, मेडल र प्रमाणपत्र पायो।
प्रतियोगितामा पाँच गोल गरेका एबिन बस्याल सर्वाधिक गोलकर्ता घोषित भए। उत्कृष्ट गोलकिपर रितिक शाह, उत्कृष्ट डिफेन्डर अप्सन बोट, उत्कृष्ट स्ट्राइकर करण बोट, उत्कृष्ट मिडफिल्डर अभिषेक घताने तथा सर्वोत्कृष्ट खेलाडी बाल्मीकी शिक्षा सदनका अर्पण पौडेल घोषित भए।
भरतपुर महानगरपालिका–१४ स्थित सुन्दरबस्ती खेल मैदानमा सम्पन्न प्रतियोगितामा चितवनका १२ विद्यालयको सहभागिता थियो। क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले विद्यालयस्तरबाटै नयाँ खेलाडी पहिचान र उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको बताए।
उनका अनुसार क्लब स्थापना भएदेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिम तथा विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन्। साथै, शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिमसमेत प्रदान गरिएको छ। प्रतियोगिताका प्रवर्द्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ ले सहयोग गर्दै आएका छन्।