Global News

पाकिस्तानले अफगानी तालिबानविरुद्ध खुला युद्ध घोषणा गर्यो

पाकिस्तानले अफगानी तालिबानविरुद्ध खुला युद्ध घोषणा गर्यो

इस्लामावाद । पाकिस्तानले अफगानी तालिबानविरुद्ध खुला युद्ध घोषणा गरेको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जाल एक्समार्फत जारी वक्तव्यमा इस्लामावादको धैर्यता समाप्त भएको भन्दै तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको जानकारी दिएका छन्।

ADVERTISEMENT

यो निर्णय बिहीबार राति अफगानिस्तानले पाकिस्तानको सीमा क्षेत्रका ६ भन्दा बढी स्थानमा हमला गरेपछि आएको हो। तालिबानका सहायक प्रवक्ता हमदुल्लाह फिरातले गएराति भएको आक्रमणमा ५५ पाकिस्तानी सैनिकको मृत्यु र केही सैनिक नियन्त्रणमा परेको दाबी गरेका छन्।

पाकिस्तानी सेना शुक्रबार बिहानै अफगानिस्तानको काबुल, पक्तिका र कान्दाहारका विभिन्न क्षेत्रमा हवाई हमला गरेको छ। पाकिस्तानका सूचना मन्त्री अत्तउल्लाह तरारले तालिबानका रक्षा ठेगानाहरूलाई लक्ष्य गरी आक्रमण गरिएको र दुई कोर मुख्यालय, दुई हतियार डिपो, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय र ८० भन्दा बढी ट्यांक नष्ट गरिएको बताए। पाकिस्तानले आफ्ना सैन्य अपरेशनमा १३३ तालिबान सदस्य मारिएको र २०० घाइते भएको दाबी गरेको छ।

तर, यी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले अफगानी अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी हवाई आक्रमणमा ८ सैनिकको मृत्यु र ११ जना घाइते भएको रिपोर्ट गरेको छ। नांगरहारको शरणार्थी शिविरमा १३ जना नागरिक घाइते भएको पनि जनाएको छ।

तालिबानका मुख्य प्रवक्ता जाबिउल्लाह मुजाहिदले पनि पाकिस्तानले काबुल, पक्तिका र कान्दाहारका केही स्थानमा बमबारी गरेको पुष्टि गरेका छन्। काबुलमा शुक्रवार बिहान शक्तिशाली विस्फोटको आवाज सुन्न सकिएको र राति करिब १स्५० बजे लडाकु विमानको आवाजसँगै विस्फोट भएको जानकारी आएको छ।

पछिल्ला महिनाहरूमा पाकिस्तान–अफगानिस्तानबीच सीमापार झडप तीव्र हुँदै आएको छ। गत अक्टोबर २०२५ मा युद्धविराममा सहमति भए पनि त्यसयता तनाव लगातार बढ्दै आएको छ। दुवै पक्षले एक–अर्कामाथि पहिले आक्रमण गरेको आरोप लगाइरहेका छन्।