काठमाडौँ । पाकिस्तानले अफगानी तालिबानविरुद्ध खुला युद्धको घोषणा गरेको छ। पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जाल एक्समार्फत जारी वक्तव्यमा अफगानी तालिबानमाथि ‘हाम्रो धैर्य समाप्त भयो, अब खुला युद्ध हुनेछ’ भन्दै चेतावनी दिएका हुन्।

आसिफले अफगानी तालिबानमाथि ‘अफगानिस्तानमा विश्वका आतंकवादी जम्मा गरेको’ र काबुलको अन्तरिम सरकारले ‘आतंकवाद निर्यात’ गरेको आरोप लगाएका छन्। उनले तालिबानले आफ्ना जनतालाई आधारभूत मानवअधिकार र महिलालाई इस्लामले दिएको अधिकारबाट समेत बञ्चित गरेको बताए।
यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मुशर्रफ जैदीले पाकिस्तानी सेनाले अफगानी तालिबानका २७ सैन्य चौकी नष्ट गरेको, नौंमा कब्जा जमाएको र ८० भन्दा बढी ट्यांक, तोप तथा बख्तरबन्द गाडी नष्ट गरेको दाबी गरेका छन्। उनले तालिबानका १३३ सदस्य मारिएका र २०० भन्दा बढी घाइते भएको समेत पुष्टि गरिएको बताए।
तर, तालिबान सरकारले यी दाबीको खण्डन गर्दै पाकिस्तानले बिहीबार राति १९ सैन्य चौकी कब्जामा लिएको र ५५ पाकिस्तानी सैनिक मारिएको दावी गरेको छ।
पाकिस्तान र अफगानिस्तानबीच सीमा क्षेत्रमा बढ्दो तनाव र आपसी आरोप–प्रत्यारोपका बीच यो द्वन्द्व संकट थप गहिरिँदै गएको छ।