काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको हवाई हमलामा महिला र बालबालिकासहित सर्वसाधारणको ज्यान गएको दाबी गरेको छ। साथै घटनाविरुद्ध उचित समयमा जवाफी कारबाही गरिने चेतावनी पनि दिएको छ।

पाकिस्तानले भने खुफिया सूचनाका आधारमा पाकिस्तान–अफगानिस्तान सीमावर्ती क्षेत्रमा सात आतंकवादी शिविरमाथि हवाई आक्रमण गरेको जनाएको छ। उसका अनुसार उक्त कारबाही हालै आफ्नो देशमा भएको आत्मघाती हमलाको प्रतिकारस्वरूप गरिएको हो।
बीबीसी हिन्दीका अनुसार तालिबान सरकारका प्रवक्ताले नंगरहार र पक्तिका प्रान्तमा करिब २० जनाको मृत्यु भएको बताएका छन्। नंगरहारमा एक घरमाथि भएको हमलामा धेरैको ज्यान गएको तथा पक्तिकामा एक मदरसा निशाना बनाइएको दाबी गरिएको छ।
तालिबान सरकारको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नंगरहार र पक्तिकाका ‘नागरिक इलाका’मा हमला गरिएको भन्दै त्यसको निन्दा गरेको छ।
यता पाकिस्तानले अफगानिस्तानस्थित तालिबान प्रशासनलाई आफ्नो भूमिबाट सक्रिय आतंकवादी समूहविरुद्ध ठोस कारबाही गर्न पटक–पटक आग्रह गरिँदै आएको तर त्यसमा प्रगति नभएको आरोप लगाएको छ। साथै आफ्नो भूमि आतंकी गतिविधिका लागि प्रयोग हुन नदिन पनि तालिबान सरकारसँग माग गर्दै आएको छ।
दुवै देशबीच सीमा क्षेत्रमा सुरक्षा र आतंकवादको विषयलाई लिएर तनाव बढ्दै गएको छ।