काठमाडौँ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा ९एकीकृत समाजवादी० का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित जोडिएको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने तय भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि अनुसन्धान गरेर तामेलीमा राखेको निर्णयसम्बन्धी फाइल अदालतमा पुगेपछि पेसी तोकिएको हो।
यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई माधव नेपाललगायतको मुद्दा अनुसन्धान गरी तामेलीमा राख्ने निर्णयको सम्पूर्ण फाइल झिकाउन आदेश दिएको थियो। सो आदेशअनुसार अख्तियारबाट फाइल अदालतमा पेस भएपछि आइतबारका लागि सुनुवाइको मिति तय गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुलउपर गर्नुपर्ने मागदाबी गर्दै कैद र जरिवानासमेतको सजाय माग गरेको छ।
अख्तियारका अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा माधव नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप छ।
अभियोगपत्रमा उल्लेख भएअनुसार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति प्रदान गरेको थियो। त्यस्तै, २०६६ माघ १८ गते नेपालले ठाडो आदेश जारी गरी पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएको दाबी अख्तियारले गरेको छ।
अख्तियारका अनुसार उक्त निर्णयका कारण ३१४ रोपनी १५ आना २ पैसा १ दाम सरकारी तथा सार्वजनिक जग्गा गैरकानुनी रूपमा बिक्री, सट्टापट्टा तथा हिनामिना भएको थियो। सो कार्यबाट राज्यलाई ठूलो आर्थिक क्षति पुगेको ठहर गर्दै ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
पतञ्जलि जग्गा प्रकरणलाई पछिल्ला वर्षहरूकै ठूला राजनीतिक भ्रष्टाचार मुद्दामध्ये एक मानिँदै आएको छ। आइतबार हुने सुनुवाइले मुद्दाको आगामी प्रक्रिया र राजनीतिक तथा कानुनी प्रभावका विषयमा चासो बढाएको छ।