सान्तोस एफसीका स्टार फरवार्ड नेयमार जूनियरले मिरासोल एफसीविरुद्धको खेल गुमाएपछि फेरि उनको फिटनेसबारे चर्चाको केन्द्र बनेका छन्। ३३ वर्षीय नेयमारले चोट र आरामबारे फैलिएका अड्कलबाजी र आलोचकलाई इन्स्टाग्राममार्फत कडा प्रतिक्रिया दिएका छन्।

पछिल्लो सिजनमा नेयमारले सान्तोसका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। चोट बोकेर पनि उनले केही खेल खेले, तर उपचारका लागि शल्यक्रिया गर्नुपरेको थियो। मिरासोलविरुद्धको खेलमा अत्यधिक अभ्यासका कारण मांसपेशीमा असहजता देखिएको भन्दै क्लबले उनलाई आराम दिएको हो।
नेयमारको मुख्य लक्ष्य २०२६ फिफा विश्वकपका लागि ब्राजिल टोलीमा स्थान बनाउन हो। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कार्लो एर्न्सलोटीले उनलाई प्रारम्भिक टोलीमा राखेका थिए, तर अन्तिम निर्णय अघि मैदानमा प्रदर्शन हेर्न योजना थियो। मिरासोल खेल गुमाउँदा नेयमारले एर्न्सलोटीको अगाडि आफूलाई प्रमाणित गर्ने अवसर गुमाएका छन्।
नेयमारले इन्स्टाग्राममा लेखे, “मलाई लिएर यति धेरै कथाहरू बनाइँदै छन्, तर वास्तवमा केही भएको छैन। म चोट बोकेर खेलें भने पनि गलत, आराम गरें भने पनि गलत। सबैलाई खुसी पार्न साँच्चै गाह्रो छ।” उनले अर्को पोस्टमा थपे, “जो दैनिक रूपमा मेरो साथमा रहेको नाटक गर्छन्, उनीहरू नै कथा बनाउन थाल्छन्। नेयमार हुनु साँच्चै गाह्रो छ, सबै कुरा सहन धैर्य चाहिन्छ।
नेयमारको लागि आगामी कोरिन्थियान्सविरुद्धको क्याम्पियोनातो ब्राजिलेइरो सिरी एको खेल अन्तिम मौका हुन सक्छ। त्यसपछि मात्र मार्च अन्तर्राष्ट्रिय विन्डोका लागि ब्राजिल टोलीको अन्तिम स्क्वाड घोषणा हुनेछ।
यो विवादले नेयमारको फिटनेस र ब्राजिल टोलीमा आगामी स्थानबारे प्रश्न उठाएको छ, तर स्टार फरवार्डले आफ्नै अधिकार र प्रदर्शन बचाउन सामाजिक सञ्जालमार्फत स्पष्ट प्रतिक्रिया दिईसकेका छन्।