Politics

नेप्से दोहोरो अंकले ओरालो, कारोबार रकममा भने उल्लेख्य सुधार

नेप्से दोहोरो अंकले ओरालो, कारोबार रकममा भने उल्लेख्य सुधार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ। बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र सूचकमा नकारात्मक प्रभाव देखिएको हो। बुधबार ५ अंकले उकालो लागेको नेप्से बिहीबार १७.५३ अंकले घटेर २७१४.०५ बिन्दुमा झरेको छ। कारोबार सुरु हुँदा नेप्से २७३१.५९ अंकमा रहेको थियो। यससँगै सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले घटेको छ। बजार घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ। बुधबार ११ अर्ब रुपैयाँको कारोबार भएकोमा बिहीबार बढेर १४ अर्ब ५६ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ। यो साता मात्रै नेप्सेमा १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ।

ADVERTISEMENT

लगानीकर्ताहरूका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खर्चको जोहो गर्न सेयर मूल्य घट्दासमेत सेयर बिक्री गरिएको हुनसक्ने अनुमान गरिएको छ। सेयर मूल्य ओरालो लागे पनि कारोबार रकम बढ्नुले बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने अपेक्षा कायमै रहेको उनीहरू बताउँछन्। बिहीबार नेप्सेमा कारोबार भएका ३२० कम्पनीमध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ। बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यस दिन हिमालय दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। समूहगत परिसूचकतर्फ अधिकांश समूह ओरालो लागेका छन्। बैंकिङ समूह ६.५७, विकास बैंक १३१.८१, वित्त ४५.८३, होटल तथा पर्यटन ९८.९४, जीवन बीमा ८४.०८, उत्पादन तथा प्रशोधन २००.७१, लघुवित्त ३०.२७, निर्जीवन बीमा ७६.८३, अन्य २७.४० र व्यापार समूह ६.७१ अंकले घटेका छन्।

यद्यपि जलविद्युत् समूह १३.७७, लगानी समूह ०।०५ र सामूहिक लगानी कोष ०.०७ अंकले बढे पनि त्यसको प्रभाव समग्र बजार सूचकमा देखिन सकेन। बिहीबार नेप्सेमा १ लाख ३८ हजार ८ सय ८३ कारोबारबाट ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ। कुल कारोबार रकम १४ अर्ब ५६ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ, जुन अघिल्लो दिनको तुलनामा उल्लेख्य वृद्धि हो